रौतहट । फरार प्रतिवादी पक्राउ गर्ने विशेष अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहटले चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका चार जनालाई पक्राउ गरेको छ।
प्रहरीले आइतबार खटिएको टोलीले फैसला कार्यान्वयनका क्रममा फरार रहेका प्रतिवादीलाई पक्राउ गरी रौतहट जिल्ला अदालतमा बुझाएको हो।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका–६ निवासी राम आशीष सहनी, चन्द्रपुर नगरपालिका–६ निवासी शशि गुप्ता तथा चन्द्रपुर–९ निवासी कमलकुमार चौधरी रहेका छन्। प्रहरीले यसअघि पक्राउ गरी अदालतमा बुझाएका अर्का प्रतिवादीसहित सोही मुद्दामा चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता बसन्त गौतमका अनुसार राकेश ठाकुर, शशीकिशोर सहनी, प्रकाश चौलागाईं र शेख वाहिद अलीको जाहेरीका आधारमा दर्ता भएको चेक अनादर मुद्दामा अदालतले चारै जनालाई जनही एक हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। फैसला कार्यान्वयनका क्रममा फरार रहेका उनीहरूलाई पक्राउ गरी अदालतमा पेश गरिएको उनले बताए।