रौतहट, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको भोलिपल्टै रौतहटको गरुडा सहित विभिन्न स्थानका आयल स्टोर्सहरुमा उपभोक्तालाई पुरानै दरमा पेट्रोल डिजल विक्री विरतण गर्दा बाद विवाद समेत भएको पाइएका छन् ।
गरुडा स्थित श्रीराम आयल स्टोर्समा उपभोक्ता सँग पुरानै दरमा पेट्रोल बिक्री गरेको आरोप यतिखेर समाजिक संजालमा भाईरल बनेका हुन् । सरकारले निर्धारण गरेको नयाँ मूल्य कार्यान्वयन नगरी उपभोक्ताबाट बढी रकम असुलेपछि उपभोक्ता र कामदारी विच बहस भएको छ ।
नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाएको थियो । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनुपर्ने व्यवस्था भए पनि उक्त पम्पले २१५ रुपैयाँकै दरमा बिक्री गरेको भन्दै उपभोक्ताहरूले चर्को विरोध गरे । उक्त सामाजिक संचालमा भाइरल भएपछि जनआक्रोश बढेको तथा कडा प्रतिक्रियाहरु पनि आएको देखियो ।
उपभोक्ताहरूले मूल्य घटेपछि पनि बढी रकम असुलिएको दाबी गर्दै स्थानीय प्रशासनले तत्काल बजार अनुगमन गरी दोषीमाथि कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गरे । यसैबीच, नेपाल आयल निगमले मूल्य घटाएको सूचना सार्वजनिक भएपछि रौतहट र बाराका अधिकांश पेट्रोल पम्प केही समय बन्द गरिएको आरोप समेत उपभोक्ताहरूले लगाएका छन् ।
मूल्य बढ्दा तत्काल नयाँ दर लागू गर्ने तर मूल्य घट्दा पुरानो मौज्दात सक्ने उद्देश्यले सेवा अवरुद्ध गरिएको हुन सक्ने आशंका उनीहरूले व्यक्त गरेका हुन् ।