रौतहट, २६ असार । मिटरब्याज पीडितहरूको न्याय सुनिश्चित गर्न दबाब बढाउने उद्देश्यबाट किसान मजदुर आन्दोलन, नेपालले हिजो बिहीबार देखि जनकपुरधामबाट काठमाडौं सम्मको ‘न्याय मार्च’ सुरु गरेका छन् ।
विभिन्न ६ बुँदे माग अघि सार्दै सुरु गरिएको पैदल यात्रामा दुई सयभन्दा बढी मिटरब्याज पीडितहरु सहभागी भएका हुन् ।
पूर्व घोषित कार्यक्रम अनुसार आन्दोलन समितिका अध्यक्ष अवधेश कुशवाहाको नेतृत्वमा जनकपुरधामको तिरहुतिया गाछीबाट न्याय मार्च सुरु भएका थिए । करिब १५ दिनको पैदल यात्रापछि संघीय राजधानी काठमाडौं पुग्ने लक्ष्य रहेको अध्यक्ष कुशवाहाले जानकारी दिए । कुशवाहाका अनुसार काठमाडौं पुगेर पीडितहरू सरकार समक्ष आफ्ना माग र पीडा प्रत्यक्ष रूपमा पोख्नेछन् । सरकारले मागप्रति जिम्मेवार भएर सुनुवाइ नगरेमा धर्ना, प्रदर्शन तथा थप सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गरिने चेतावनी दिए ।
अध्यक्ष कुशवाहाले मिटरब्याज समस्याको समाधानका लागि सरकारले हाल सम्म तीनवटा आयोग र एउटा कार्यदल गठन गरे पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले पुनः पैदल आन्दोलन गर्न बाध्य भएको बताए । यो विशुद्ध मिटरब्याजी पीडितहरूको तेस्रो न्याय मार्च हो, समितिका सचिव मनोज पासवानले सरकार पीडितका मागप्रति गम्भीरता नदेखाए देशव्यापी संघर्ष चर्काउने चेतावनी दिए ।
आन्दोलनकारीहरूले फर्जी लिखत खारेज गर, मिटरब्याज विरुद्ध कडा कानुन निर्माण गर, मिटरब्याज सम्बन्धी न्यायाधिकरण गठन गर, सुदखोरको सम्पत्तिको छानबिन गर, पीडितको सम्पत्ति फिर्ता गर तथा न्यायपूर्ण आर्थिक कारोबार सुनिश्चित गर लगायतका ६ बुँदे माग अघि सारेका छन् । यसअघि गत शनिबार चितवनमा बसेको आन्दोलन समितिको बैठकले न्याय मार्चलाई शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
बैठकमा संयुक्त जनअधिकार मोर्चाका प्रतिनिधि, भगिनी संगठनका सदस्य तथा सचिवालयका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।आन्दोलन समितिका अनुसार पीडितको न्यायको मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने उद्देश्यले आयोजना गरिएको छ ।