रौतहट, चन्द्रपुर — चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीप्रसाद ढकालले स्थानीय सरकारलाई प्रभावकारी, उत्तरदायी र पारदर्शी बनाउन नागरिकको सक्रिय निगरानी र प्रश्न गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताएका छन्।
'सोमबार हाइवे संवाद' कार्यक्रममा पत्रकारहरूसँग कुराकानी गर्दै ढकालले जनप्रतिनिधि, कर्मचारी र राज्यका निकायलाई जिम्मेवार बनाउन नागरिकबाट निरन्तर प्रश्न उठ्नु सकारात्मक पक्ष भएको बताए।
उनले भने, "नागरिकले प्रश्न गर्ने, सुझाव दिने र खबरदारी गर्ने संस्कार बलियो भयो भने सार्वजनिक सेवा र विकास निर्माण दुवै गुणस्तरीय बन्छन्। प्रश्नबाट भाग्ने होइन, त्यसलाई सुधारको अवसरका रूपमा लिनुपर्छ।"
उनका अनुसार स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री र प्रभावकारी बनाउन नगरपालिकाले प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेको छ। सेवा लिन आउने सेवाग्राहीले अनावश्यक दुःख नपाउने वातावरण बनाउन कर्मचारीको जिम्मेवारी र अनुशासनमा विशेष ध्यान दिइएको उनले बताए।
तीन महिनाअघि जिम्मेवारी सम्हालेयता कार्यालयको कार्यसंस्कृतिमा सुधार ल्याउने प्रयास गरिएको ढकालको भनाइ छ। कर्मचारी समयमै कार्यालय आउने, समयमै सेवा उपलब्ध गराउने र कार्यालय समयको पूर्ण पालना गर्ने व्यवस्था लागू गरिएको उनले जानकारी दिए। यसबाट सेवाग्राहीले प्रत्यक्ष रूपमा सहज सेवा पाउन थालेको उनको दाबी छ।
ढकालले नगरपालिकाको समग्र विकास कुनै एक व्यक्ति वा संस्थाको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै जनप्रतिनिधि, कर्मचारी, नागरिक, सञ्चारमाध्यम र सरोकारवाला सबैबीच सहकार्य र समन्वय अपरिहार्य रहेको बताए।
कृषि क्षेत्र नगरपालिकाको मुख्य आधार भएकाले त्यसको आधुनिकीकरण र उत्पादन वृद्धि नगरपालिकाको प्राथमिकतामा रहेको उनले बताए। किसानलाई आवश्यक मल उपलब्ध गराउने विषयमा कुनै विभेद नगर्न निर्देशन दिइएको उल्लेख गर्दै उनले सबै किसानले समान रूपमा मल प्राप्त गर्ने वातावरण बनाउन आफू प्रतिबद्ध रहेको बताए। कृषि क्षेत्रमा पारदर्शी वितरण प्रणालीले मात्रै किसानको विश्वास जित्न सकिने उनको भनाइ थियो।
शिक्षा क्षेत्रलाई पनि नगर विकासको महत्वपूर्ण आधारका रूपमा लिएको ढकालले बताए। विद्यालयको शैक्षिक वातावरण सुधार, प्रशासनिक व्यवस्थापन सुदृढीकरण तथा सार्वजनिक सेवामा सुशासन कायम गर्न आवश्यक सुधारका काम अघि बढाइएको उनले जानकारी दिए।
ढकालले पछिल्लो समय युवापुस्तामा देखिएको मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीप्रति पनि चिन्ता व्यक्त गरे। विकासलाई सडक, भवन र भौतिक पूर्वाधारमा मात्र सीमित गर्न नहुने उल्लेख गर्दै उनले मानसिक स्वास्थ्य, परामर्श सेवा र सामाजिक चेतनाको विकासलाई पनि समान प्राथमिकता दिनुपर्ने धारणा राखे।
"समाजको वास्तविक विकास भनेको सडक र भवन मात्रै होइन। युवामा बढ्दो मानसिक तनाव, निराशा र मनोसामाजिक समस्या पनि गम्भीर विषय हुन्। स्थानीय तहले यसतर्फ पनि सचेत भएर काम गर्नुपर्छ," उनले भने।
उनले स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले जनविश्वास कायम राख्न पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। नागरिकले निरन्तर खबरदारी गरिरहे स्थानीय तह अझ प्रभावकारी र उत्तरदायी बन्ने विश्वास पनि उनले व्यक्त गरे।