रौतहट, साउन १
सामाजिक विकृति, ध्वनि प्रदूषण र अव्यवस्थित सार्वजनिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले रौतहटको वृन्दावन नगरपालिका–२ स्थित धनगढी टोलका बासिन्दाले सामुदायिक आचारसंहिता लागू गरेका छन्। स्थानीयवासीको सर्वसम्मत निर्णयअनुसार अब विवाह, धार्मिक तथा सार्वजनिक कार्यक्रममा हुलहुज्जत, अभद्र व्यवहार, अत्यधिक ध्वनि प्रदूषण र सार्वजनिक स्थल अव्यवस्थित बनाउने गतिविधिमाथि कडा निगरानी गरिने भएको छ।
वडा अध्यक्ष सिकिन्द्र पटेलको पहलमा आयोजित टोल भेलाले सामाजिक सद्भाव, अनुशासन, सरसफाइ र शान्तिपूर्ण वातावरण कायम गर्ने उद्देश्यले विभिन्न आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। भेलाले पारित गरेका नियमहरू साउन १ गतेदेखि कार्यान्वयनमा ल्याइएको जनाइएको छ।
निर्णयअनुसार विवाहका अवसरमा जन्तीका नाममा हुने हुलहुज्जत, झैँझगडा, अभद्र व्यवहार तथा सामाजिक वातावरण बिगार्ने गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई पाँच हजारदेखि ५० हजार रुपैयाँसम्म सामाजिक जरिवाना गरिनेछ। आवश्यक परे कानुनी प्रक्रियासमेत अघि बढाइने व्यवस्था गरिएको छ।
त्यस्तै, धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममा अत्यधिक आवाज आउने डिजे तथा विद्युतीय बाजा प्रयोग गरी ध्वनि प्रदूषण गराउने कार्यलाई पनि नियन्त्रण गरिने भएको छ। समुदाय र छिमेकीलाई असर पुग्ने गरी ध्वनि प्रदूषण गराउने व्यक्ति वा समूहलाई सामाजिक कारबाहीसँगै जरिवाना गरिने निर्णय भेलाले गरेको छ।
सार्वजनिक सरसफाइलाई समेत अभियानका रूपमा अघि बढाउने निर्णय गरिएको छ। मुख्य चोक, गल्ली तथा भित्री सडक नियमित रूपमा सफा राख्ने, सार्वजनिक स्थानमा फोहोर फाल्न नदिने तथा सडकमा गाई, भैँसीलगायतका चौपाया बाँध्ने वा छाडा छाड्ने पशुधनीलाई पहिचान गरी आवश्यक कारबाही गरिने व्यवस्था गरिएको छ।
टोलका ज्येष्ठ नागरिक सरफलाल राउतले पछिल्लो समय विवाह तथा विभिन्न सामाजिक कार्यक्रममा बढ्दो तडकभडक, रातभरि डिजे बजाउने प्रवृत्ति, सार्वजनिक सडकको अव्यवस्थित प्रयोग र सरसफाइप्रतिको बेवास्ताका कारण समुदायमा असहज अवस्था सिर्जना हुँदै गएको बताए। यही अवस्थालाई सुधार गर्न सबै स्थानीयवासीको सहमतिमा सामुदायिक आचारसंहिता लागू गरिएको उनले बताएका छन्।
भेलामा टोलको विकास, सामाजिक सद्भाव, सुरक्षा, अनुशासन, सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको सामाजिक उत्तरदायित्वका विषयमा पनि विस्तृत छलफल भएको थियो। टोलवासीको उल्लेखनीय सहभागिता र सामूहिक हस्ताक्षरसहित निर्णय पारित गरिएको वडा अध्यक्ष सिकिन्द्र पटेलले बताएका छन्।
उनका अनुसार कानुनले मात्र समाज सुधार गर्न नसक्ने भएकाले समुदाय आफैं जिम्मेवार बन्नुपर्ने आवश्यकता महसुस गर्दै यस्तो अभियान सुरु गरिएको हो।
स्थानीयले नियमको पालना गरे टोललाई शान्त, सभ्य, स्वच्छ र अनुशासित बस्तीका रूपमा विकास गर्न सकिने उनको विश्वास छ।
स्थानीय सञ्चारकर्मी रुपेन्द्र पटेलले धनगढी टोलको पहललाई उदाहरणीय भन्दै अन्य वडा र पालिकाले पनि यस्तै सामुदायिक अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्। उनका अनुसार स्थानीयवासी स्वयंले सामाजिक उत्तरदायित्व वहन गर्दै अनुशासन कायम गर्ने संस्कृतिको विकास भए समाजमा बढ्दै गएको विकृति र विसंगति नियन्त्रण गर्न ठूलो सहयोग पुग्नेछ।
स्थानीयवासीले यो अभियानलाई केवल नियम लागू गर्ने कार्यक्रम नभई सामाजिक रूपान्तरणको अभियानका रूपमा लिएको बताएका छन्।
उनीहरूका अनुसार सामूहिक प्रतिबद्धताका साथ कार्यान्वयन गरिने यो आचारसंहिताले आगामी दिनमा धनगढी टोललाई शान्त, सुरक्षित र अनुशासित बस्तीका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।