जनकपुरधाम, साउन ७
नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीको शिकार बनेको भन्दै न्यायको माग गरेका छन्। आफ्नो नाममा धितो राखिएको जग्गा आफूलाई जानकारी नै नदिई पुनः धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिएका हुन्। जनकपुरधाममा बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वएसएसपी साहले धनुषाको विदेह नगरपालिका–८ स्थायी घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–२ मा बसोबास गर्दै आएको बताउँदै आफू योजनाबद्ध रूपमा ठगीमा परेको दाबी गरे। उनका अनुसार २०७९ सालमा चिनजानका एक व्यक्तिसँग ९९ लाख रुपैयाँ ऋण लिँदा पत्नीको नाममा रहेको विदेह नगरपालिका–६ तीनकौरियास्थित पाँच कठ्ठा १३ धुर जग्गा दृष्टिबन्धक (धितो) राखिएको थियो। तर आफूलाई कुनै जानकारी नदिई सोही व्यक्तिले उक्त जग्गा पुनः अर्को व्यक्तिसमक्ष धितो राखेर चार करोड रुपैयाँ ऋण लिएको आरोप उनले लगाए। पूर्वएसएसपी साहले आफूले ऋणको साँवा–ब्याज तिर्ने र धितो राखिएको जग्गा फिर्ता गरिदिन पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित व्यक्तिले विभिन्न बहाना बनाउँदै टार्दै आएको बताए। पछि जग्गा पुनः धितो राखेर ठूलो रकमको ऋण लिइएको जानकारी पाएपछि आफू बाध्य भएर कानुनी प्रक्रियामा गएको उनको भनाइ छ।
“प्रहरी सेवामा लामो समय बिताएको व्यक्तिसमेत यस्तो योजनाबद्ध ठगीको शिकार हुनुपरेको छ,” उनले पत्रकार सम्मेलनमा भने, “यस घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गरिनुपर्छ।”
पूर्वएसएसपी साहको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ठगीको आरोपमा गोपाल साह, उनकी पत्नी रेखाकुमारी साह तथा छोरा हरेराम साहलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकामाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा जग्गा धितो राखिएको प्रक्रिया, ऋण कारोबार तथा सम्बन्धित कागजातको समेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।
घटनाले धितो तथा जग्गा कारोबारमा हुने सम्भावित अनियमितता र कानुनी कमजोरीबारे पुनः प्रश्न उठाएको छ। प्रहरीले यस प्रकरणमा संलग्न अन्य व्यक्ति वा संस्थाको भूमिका भए–नभएको विषयमा पनि अनुसन्धान अघि बढाएको जनाएको छ।