रौतहट — प्रतिनिधिसभा सदस्य तथा रौतहट निर्वाचन क्षेत्र नं. ४ का सांसद गणेश पौडेलमाथि गढीमाई नगरपालिका–पर्सीमा कालो मसी प्रहार भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिका सभापति अरुण लामाले कडा प्रतिक्रिया दिएका छन्। उनले उक्त घटनालाई लोकतान्त्रिक अभ्यासमाथिको प्रहारको संज्ञा दिँदै दोषीलाई कानुनी कठघरामा उभ्याउन राज्यसँग माग गरेका छन्।
घटनापछि जारी गरिएको प्रेस विज्ञप्तिमा सभापति लामाले लोकतन्त्रमा असहमति, विरोध र आलोचना स्वाभाविक भए पनि जनप्रतिनिधिमाथि अपमानजनक व्यवहार कुनै पनि रूपमा स्वीकार्य नहुने बताएका छन्। "राजनीतिक असहमतिको अभिव्यक्ति मसी प्रहार वा अराजकतामार्फत होइन, लोकतान्त्रिक विधि र कानुनी प्रक्रियामार्फत हुनुपर्छ," विज्ञप्तिमा उल्लेख छ।
लामाले सांसद पौडेलमाथि भएको मसी प्रहारले केवल एक व्यक्तिमाथि नभई लोकतान्त्रिक मूल्य–मान्यता, सभ्य राजनीतिक संस्कृति र कानुनी शासनमाथि नै आघात पुगेको बताएका छन्। उनले यस्ता गतिविधिले समाजमा गलत सन्देश प्रवाह गर्ने र राजनीतिक सहिष्णुतालाई कमजोर बनाउने चेतावनी दिएका छन्।
रास्वपा चन्द्रपुर नगर समितिले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। दोषीमाथि कानुनी कारबाही नभए यस्ता घटनाले भविष्यमा थप अराजकता निम्त्याउन सक्ने समितिको भनाइ छ।
यसैबीच, रास्वपा चन्द्रपुर वडा नं. १ समितिले पनि वडा सभापति नव जागरण बरालको हस्ताक्षरमा छुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ। वडा समितिले पनि लोकतान्त्रिक मूल्य–मान्यता विपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य नहुने उल्लेख गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।
सांसद पौडेलमाथि भएको मसी प्रहारको घटनालाई लिएर रौतहटमा राजनीतिक प्रतिक्रिया क्रमशः बढ्दै गएको छ। रास्वपाका स्थानीय संगठनहरूले घटनालाई गम्भीर रूपमा लिएर कानुनी शासनको प्रभावकारी कार्यान्वयन र लोकतान्त्रिक संस्कृतिको संरक्षणमा राज्य गम्भीर हुनुपर्ने माग गरेका छन्