रौतहट । जवरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय सुनाइएका फरार कैदी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार कटहरिया नगरपालिका–७ बगहीका ३० वर्षीय प्रभु माझीलाई बुधबार राति करिब ११ः३० बजे गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०६८ फागुन २५ गते तत्कालीन बगही–६ स्थित एक पोखरीको डिलमा पाँच वर्षीया बालिकामाथि जवरजस्ती करणी गरी हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले उनलाई २० वर्ष कैद सजायको फैसला सदर गरेको थियो। त्यसपछि उनी कारागार कार्यालय गौरमा कैद भुक्तान गरिरहेका थिए।
जेनजी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार भएपछि लुकीछिपी बस्दै आएका माझीलाई जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलासका क्रममा कटहरिया–७ बगहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका माझीलाई बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय गौर, रौतहटमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।