रौतहट — प्रतिनिधिसभा सदस्य गणेश पौडेलले केही दिनअघि आफूविरुद्ध भएको दुर्व्यवहारको घटनापछि पनि निर्वाचन क्षेत्रका नागरिकसँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिएका छन्। गत साउन ७ गते गढीमाई नगरपालिका–पर्सी क्षेत्रमा आयोजित भेटघाटका क्रममा उनीमाथि भएको दुर्व्यवहारले राजनीतिक बहस सिर्जना गरे पनि त्यसलाई बेवास्ता गर्दै उनी पुनः गाउँ–गाउँ पुगेर नागरिकका समस्या सुन्ने अभियानमा सक्रिय देखिएका छन्।
शनिबार पनि पौडेलले रौतहट निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत गढीमाई नगरपालिकाका विभिन्न वडाका सुन्दरपुर, हथियोल, इनर्वा, चिलमिलिया, मलाही टोल लगायतका बस्तीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरे। कार्यक्रममा स्थानीय बासिन्दाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, खानेपानी, सामाजिक सुरक्षा तथा विकास निर्माणसँग सम्बन्धित विषयमा आफ्ना गुनासा र सुझाव सांसद पौडेलसमक्ष राखेका थिए।
स्थानीयसँग खुला छलफल गर्दै पौडेलले निर्वाचनका बेला गरेका प्रतिबद्धताका विषयमा जानकारी गराउनुका साथै नागरिकका मागलाई सम्बन्धित निकायसम्म पुर्याएर समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनका अनुसार जनप्रतिनिधिको मुख्य जिम्मेवारी संसद्भित्र मात्र सीमित नभई नागरिकको घरदैलोमा पुगेर उनीहरूको समस्या सुन्नु र समाधानका लागि पहल गर्नु पनि हो।
कार्यक्रममा सहभागी स्थानीयले विगतमा निर्वाचित धेरै सांसद आफ्नो क्षेत्रमा कमै आउने गरेको अनुभव सुनाउँदै पौडेलले नियमित रूपमा गाउँमै पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गरेको शैली फरक रहेको प्रतिक्रिया दिएका थिए। केही स्थानीयले आफूहरूले पहिलो पटक निर्वाचित सांसदसँग खुला रूपमा आफ्ना समस्या राख्ने अवसर पाएको बताए।
यसपटकको घरदैलो तथा संवाद कार्यक्रमको व्यवस्थापन र समन्वयमा चन्द्रपुर नगर सभापति अरुण लामाले सक्रिय भूमिका निर्वाह गरेका थिए। स्थानीय कार्यकर्ताका अनुसार कार्यक्रमको तयारीदेखि नागरिकको सहभागिता सुनिश्चित गर्नेसम्मका काममा लामा निरन्तर खटिएका थिए। पार्टीभित्र जनसंगठन विस्तार र नागरिकसँगको सम्पर्कलाई मजबुत बनाउन उनले नियमित रूपमा सक्रिय भूमिका खेल्दै आएको कार्यकर्ताहरूको भनाइ छ।
कार्यक्रममा क्षेत्रीय सभापति सचितानन्द सहनी (सचिन), जिल्ला सदस्य अजय कुमार शाह, चन्द्रपुर नगर सभापति अरुण लामा, गढीमाई नगर सभापति शम्भु शाह, गरुडा नगर सभापति शिवपुजन सहनी, बृन्दावन नगर सभापति अनिल यादव, चन्द्रपुर नगर सचिव मुकुन्द पौडेल, गढीमाई नगर सचिव अर्बिन्द यादव तथा महाधिवेशन प्रतिनिधि जनकराज भारती, प्रेमशंकर यादव, उदयनारायण सापकोटा, सुशील यादव लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
पछिल्ला केही सातादेखि पौडेलले निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गर्दै आएका छन्। स्थानीय तहका विकास योजना, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्यालाई प्राथमिकतामा राख्दै जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने उद्देश्यले यस्तो कार्यक्रमलाई निरन्तरता दिइएको उनका सहयोगीहरूले बताएका छन्।