रौतहट, साउन १४ गते ।
रौतहटको बौधीमाई नगरपालिका–४ का वडा अध्यक्ष तुरन्त नारायण यादवले आफ्नो कार्यकालमा वडाको कृषि, सिंचाइ, विद्युत् तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर उल्लेखनीय काम सम्पन्न गरेको बताएका छन्। वडावासीलाई आधारभूत सुविधा उपलब्ध गराउने लक्ष्यसहित आफू निर्वाचित भएदेखि निरन्तर रूपमा विकास निर्माणका काममा सक्रिय रहेको उनले बताएका हुन्।
वडा अध्यक्ष यादवका अनुसार कृषि उत्पादन वृद्धि र किसानलाई सहज सिंचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले बुढियामाई क्षेत्र नजिक कृषि सिंचाइका लागि १०० केभी क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ। त्यसका लागि करिब १५० वटा विद्युत् पोल गाडेर तार विस्तारको कामसमेत सम्पन्न गरिएको उनले जानकारी दिए। यसबाट लामो समयदेखि सिंचाइ सुविधाको अभाव झेलिरहेका स्थानीय किसान प्रत्यक्ष लाभान्वित भएको एक स्थानीयले बताएका छन।
उनले चालु आर्थिक वर्षभित्र थप दुई वटा १०० केभी क्षमताका ट्रान्सफर्मर जडान गराइएको उल्लेख गर्दै विद्युत् पहुँच विस्तारसँगै कृषि क्षेत्रमा आधुनिकीकरणको आधार तयार भएको बताए। विगतमा पोल गाडेर अधुरै छाडिएका विभिन्न स्थानमा समेत करिब ५० वटा पोलमा तार जडान गरी विद्युत् सेवा विस्तार गरिएको उनले जानकारी दिए।
वडा अध्यक्ष यादवले आफ्नो कार्यकालमा वडाभर करिब ७५ देखि ८० वटा बोरिङ जडान गराइएको दाबी गरेका छन्। किसानलाई वर्षायाममा मात्र निर्भर हुनुपर्ने बाध्यता हटाउन र बाह्रै महिना खेती गर्न सक्ने वातावरण सिर्जना गर्न बोरिङ जडान अभियान प्रभावकारी बनेको उनको भनाइ छ। सिंचाइ सुविधाको विस्तारसँगै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव परेको उनले बताए।
यादवले आफू निर्वाचित भएदेखि हालसम्म वडाको चौतर्फी विकासमा केन्द्रित भएर काम गरेको उल्लेख गरे। सडक, नाला, विद्युत्, खानेपानी, कृषि पूर्वाधार तथा सामुदायिक विकासका विभिन्न योजनाहरू क्रमशः कार्यान्वयन गरिएको उनको भनाइ छ। सीमित स्रोतसाधनका बीच पनि जनताको आवश्यकता र प्राथमिकतालाई आधार बनाएर योजनाहरू अघि बढाइएको उनले बताए।
“म कुनै व्यक्तिको दबाब, निर्देशन वा अवरोधमा परेर होइन, जनताको हितलाई केन्द्रमा राखेर काम गर्छु,” यादवले भने, “मेरो लागि मेरो वडाका आम नागरिक नै भगवान् समान हुनुहुन्छ। उहाँहरूको सेवा गर्नु नै मेरो पहिलो दायित्व हो।”
विकास निर्माणका क्रममा विभिन्न चुनौती र अवरोध आए पनि आफू पछि नहटेको उनले बताए। जनप्रतिनिधिको जिम्मेवारी केवल योजना ल्याउने मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु पनि रहेको उनको धारणा छ। आगामी दिनमा पनि वडावासीको अपेक्षाअनुसार काम गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दै उनले कसैको पनि वैध काममा आफ्नो कारणले बाधा नपुग्ने स्पष्ट पारे।
“मेरो एउटै सोच छ, मबाट कसैको कामकाजमा कुनै प्रकारको बाधा वा अवरोध नहोस्,” उनले भने, “जनताको विश्वासलाई कायम राख्दै विकास र सेवाको यात्रालाई अझ प्रभावकारी बनाउने मेरो प्रयास निरन्तर रहनेछ।”
स्थानीयवासीहरूका अनुसार पछिल्ला वर्षहरूमा वडामा विद्युत्, सिंचाइ तथा कृषि पूर्वाधार विस्तारका कामले गति लिएको छ। किसानलाई लक्षित योजनाहरू कार्यान्वयन भएपछि खेतीपातीमा सहजता आएको र उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। वडा कार्यालयले आगामी दिनमा पनि कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर विकास अभियानलाई अगाडि बढाउने जनाएको छ।