रौतहट, साउन १७ । रौतहटको चन्द्रपुर नगरपालिका–४ र ५ को सिमानामा पर्ने ऐतिहासिक राजकुलोको सरसफाइ अभियान सञ्चालन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर सभापति अरुण लामाले स्थानीय तहलाई यसको संरक्षण र नियमित व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन्।
वर्षौंदेखि झारपातले ढाकिएको तथा उपेक्षाको शिकार बनेको राजकुलोको सरसफाइ गर्दै लामाले यो केवल पानी बग्ने कुलो मात्र नभई स्थानीय इतिहास, कृषि र जनजीवनसँग जोडिएको सम्पदा भएको बताए। उनका अनुसार यो राजकुलो आफ्नो जन्मभन्दा अघिदेखि अस्तित्वमा रहेको पुरानो संरचना हो, जसले दशकौंसम्म आसपासका बस्ती र खेतबारीलाई सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो।
सरसफाइ अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै लामाले राजकुलो झारपातले भरिँदा स्थानीयवासीले अनेक समस्या भोग्नुपरेको बताए। “राजकुलो सफा नहुँदा झाडी बढेको छ। झाडीभित्र सर्पको जोखिम बढेको छ, पानी जम्ने हुँदा डेंगु लगायतका रोग फैलिने खतरा पनि बढेको छ,” उनले भने, “यसलाई समयमै व्यवस्थापन गर्न सके स्वास्थ्य र वातावरणीय दुवै समस्या न्यूनीकरण गर्न सकिन्छ।”
लामाका अनुसार राजकुलो व्यवस्थित भएपछि ठोकरटोल, झनझनी टोल, गैरी टोल लगायतका क्षेत्रका किसानले प्रत्यक्ष लाभ पाउनेछन्। उनले वर्षायाममा पानीको उचित निकास र सुख्खा समयमा सिँचाइ व्यवस्थापनका लागि राजकुलोको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। “कुलो सफा भएपछि पानीको बहाव सहज हुन्छ र खेतबारीमा सिँचाइ पुर्याउन सजिलो हुन्छ। यसले कृषि उत्पादन बढाउन समेत सहयोग पुर्याउँछ,” उनले बताए।
उनले विगतमा किसानहरू स्वयंले सामूहिक रूपमा कोदालो लिएर राजकुलो सफा गर्ने परम्परा रहेको स्मरण गरे। गाउँका बासिन्दा श्रमदानमार्फत कुलो संरक्षणमा जुट्ने गरे पनि पछिल्ला वर्षहरूमा त्यो अभ्यास हराउँदै गएको उनको भनाइ छ। “पहिला किसान आफैं जुट्थे, कुलो सफा गर्थे, पानीको व्यवस्थापन गर्थे। अहिले त्यो संस्कृति हराउँदै गएको छ। त्यसैले यस्ता संरचनाको संरक्षणमा स्थानीय सरकारको सक्रियता आवश्यक छ,” उनले भने।
स्थानीय किसानहरूले पनि राजकुलोको सरसफाइ अभियानलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार कुलोमा पानीको बहाव अवरुद्ध हुँदा खेतीपातीमा समस्या हुँदै आएको थियो। कुलो पुनः सञ्चालनमा आए कृषि उत्पादन वृद्धि हुनुका साथै खेतसम्म पानी पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
लामाले नगरपालिकालाई राजकुलोको नियमित सरसफाइ, संरक्षण तथा दीर्घकालीन व्यवस्थापनका लागि विशेष योजना ल्याउन आग्रह गरेका छन्। उनले ऐतिहासिक तथा कृषि महत्व बोकेका यस्ता संरचनालाई संरक्षण गर्न नसके भविष्यमा स्थानीय समुदायले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी समेत दिए।
“यो कुनै एक व्यक्ति वा एक वडाको मात्र सम्पत्ति होइन, सम्पूर्ण क्षेत्रको साझा सम्पदा हो,” उनले भने, “नगरपालिकाले प्राथमिकताका साथ यसको सरसफाइ र संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ। यसले कृषि, वातावरण, स्वास्थ्य र स्थानीय इतिहास सबैलाई जोगाउन मद्दत पुर्याउँछ।”
स्थानीयवासीका अनुसार वर्षौंदेखि उपेक्षित बनेको राजकुलोको सरसफाइपछि यस क्षेत्रका नागरिकमा नयाँ आशा जागेको छ। उनीहरूले सरसफाइ अभियानलाई निरन्तरता दिँदै राजकुलोलाई पूर्ण रूपमा पुनर्जीवित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।