रौतहट । नेपालको उदीयमान इ–कमर्स प्लेटफर्म ‘सोफीड्रप’ले नायक तथा मोडल शेखर सुवेदीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। कम्पनीले डिजिटल व्यापारलाई थप सहज, भरपर्दो र व्यवसायमैत्री बनाउने उद्देश्यसहित सुवेदीलाई ब्रान्ड प्रवर्द्धन अभियानमा जोडिएको जनाएको छ।
सोफीड्रपले साना तथा ठूला व्यवसायी र उपभोक्तालाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्दै आएको दाबी गरेको छ। कम्पनीका अनुसार व्यवसायीहरूले न्यून शुल्कमा आफ्ना उत्पादनहरू सूचीकरण गरी बिक्री गर्न सक्नेछन् भने उपभोक्ताले घरमै बसेर वा प्रत्यक्ष पसलमा पुगेर सामान खरिद गर्न सक्ने सुविधा पाउनेछन्।
कम्पनीका अध्यक्ष भुसालले व्यवसायीलाई प्रोत्साहन गर्न सात प्रकारका सदस्यता प्याकेज उपलब्ध गराइएको जानकारी दिए। हाल न्यूनतम प्याकेजबाहेक अन्य सबै प्याकेजमा ५० प्रतिशतसम्म विशेष छुट प्रदान गरिएको उनले बताए।
उनका अनुसार प्रिमियम प्याकेजअन्तर्गत व्यवसायीले मासिक ६ हजार रुपैयाँ शुल्क तिरेर २ हजार ५ सयभन्दा बढी प्रकारका सामान सूचीकरण गरी बिक्री गर्न सक्नेछन्। साथै, सामान बिक्री भएपछि रकम प्राप्त गर्न लामो समय कुर्नुपर्ने व्यवसायीहरूको समस्या समाधान गर्न ‘रियल–टाइम पेमेन्ट सिस्टम’ लागू गरिएको कम्पनीको दाबी छ। यस प्रणालीमार्फत सामान बिक्री हुनेबित्तिकै सम्बन्धित व्यवसायीको खातामा रकम जम्मा हुनेछ। ड्यासबोर्डबाटै डिजिटल वालेट जोड्न सकिने सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार व्यवसायीको लागत घट्ने र बिक्री प्रक्रिया पारदर्शी हुने भएकाले उपभोक्ताले तुलनात्मक रूपमा सस्तो मूल्यमा सामान खरिद गर्न सक्नेछन्। सामान बिक्री भएपछि २.५ प्रतिशत बजार व्यवस्थापन शुल्क लिइने तथा ०.५ प्रतिशत रकम उपभोक्ताको ‘रिवार्ड प्वाइन्ट’का लागि छुट्याइने व्यवस्था गरिएको छ। संकलित रिवार्ड प्वाइन्टलाई उपभोक्ताले भविष्यमा पुनः सामान खरिद गर्दा रकमसरह प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ।
ब्रान्ड एम्बेसडर नियुक्त भएपछि सुवेदीले नेपाली डिजिटल व्यापारलाई नयाँ उचाइमा पुर्याउने अभियानसँग जोडिन पाउँदा खुसी लागेको बताए। उपभोक्ता र व्यवसायीबीचको दूरी घटाउँदै विश्वासको वातावरण निर्माण गर्न तथा डिजिटल किनमेललाई आम नागरिकसम्म विस्तार गर्न आफूले सक्रिय भूमिका खेल्ने उनको भनाइ छ।
नेपालमा इ–कमर्स क्षेत्र विस्तार भइरहेका बेला सोफीड्रपले व्यवसायीलाई तत्काल भुक्तानी, कम लागत र उपभोक्तालाई रिवार्ड प्रणालीमार्फत आकर्षित गर्ने रणनीति अघि सारेको जनाएको छ।