रौतहट, साउन २० — रौतहटका विभिन्न गाउँबस्तीमा पसेर बाख्रा तथा अन्य घरपालुवा जनावर मार्दै आतंक मच्चाइरहेको रहस्यमय जनावरको पहिचान भएको छ। डिभिजन वन कार्यालय रौतहटले चितवनबाट ल्याइएको प्राविधिक टोलीको सहयोगमा बिछ्याएको ट्र्यापमा एक सिकारी कुकुर परेपछि घटनाको रहस्य खुल्न थालेको हो।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोजकुमार ठाकुरका अनुसार भारतको बिहार राज्यमा समेत आतंक फैलाएको उक्त सिकारी कुकुर नेपाल प्रवेश गरी रौतहटका विभिन्न क्षेत्रमा घरपालुवा पशुमाथि आक्रमण गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पछिल्लो एक महिनादेखि गरुडा नगरपालिका, ईशनाथ नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकाका विभिन्न बस्तीमा रातिको समयमा अज्ञात जनावरले खोरमै पसेर बाख्रा तथा अन्य पशुचौपाया मार्ने घटनाहरू बढेका थिए। घटनापछि स्थानीयवासी त्रसित बनेका थिए।
विशेषगरी गरुडा नगरपालिका–१ जयनगर क्षेत्रमा बाख्राको आन्द्राभुँडी निकालेर खाने, शरीरका विभिन्न भागमा क्षति पुर्याउने तथा पशुहरूलाई निर्ममतापूर्वक मार्ने घटनाले स्थानीयमा थप डर र त्रास फैलाएको थियो। ईशनाथ नगरपालिका–१ र ३ तथा दुर्गा भगवती गाउँपालिकाका विभिन्न वडाबाट पनि यस्तै प्रकृतिका घटनाबारे सूचना प्राप्त भएपछि वन कार्यालयले अनुसन्धान अघि बढाएको थियो।
घटनाको वास्तविकता पत्ता लगाउन डिभिजन वन कार्यालय रौतहटले चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) सौराहासँग समन्वय गरी प्राविधिक टोली परिचालन गरेको थियो। प्रारम्भिक चरणमा आक्रमणकारी जनावरको पहिचान हुन नसके पनि घटनास्थलमा भेटिएका पदचिह्न, आक्रमणको शैली तथा प्राविधिक अध्ययनका आधारमा सिकारी कुकुरमाथि शंका गरिएको थियो।
त्यसपछि औरैया क्षेत्रमा विशेष ट्र्याप जडान गरिएको थियो। वन कार्यालयका अनुसार सोही ट्र्यापमा सिकारी कुकुर परेको हो। ट्र्यापमा परेको कुकुरको व्यवहार, शारीरिक बनोट तथा आक्रमणको शैलीका आधारमा बिहारबाट नेपाल प्रवेश गरेको सिकारी कुकुर नै हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालिएको वन प्रमुख ठाकुरले जानकारी दिए।
उनका अनुसार कुकुरको थप प्राविधिक अध्ययन तथा परीक्षण भइरहेको छ। वन कार्यालयले प्रभावित क्षेत्रका स्थानीयलाई सतर्क रहन तथा कुनै शंकास्पद वन्यजन्तु वा जनावर देखिएमा तत्काल जानकारी गराउन आग्रह गरेको छ।
सिकारी कुकुर ट्र्यापमा परेपछि लामो समयदेखि त्रासमा रहेका स्थानीयवासीले राहतको अनुभूति गरेका छन्। यद्यपि घटनाबारे थप अनुसन्धान जारी रहेको वन कार्यालयले जनाएको छ।