रौतहट, साउन २० । हरेक वर्ष बाढी र डुबानको मार खेप्दै आएका रौतहटका सीमावर्ती बस्तीहरूको अवस्थाबारे चासो व्यक्त गर्दै नेपाल र भारतका अधिकारीहरूको संयुक्त टोलीले बुधबार लालबकैया नदी तथा तटबन्धको स्थलगत निरीक्षण गरेको छ। वर्षायामको बीचमा भएको उक्त निरीक्षणलाई आगामी बाढी जोखिम न्यूनीकरण र सीमा क्षेत्रमा रहेका संरचनाको प्रभावकारिता मूल्याङ्कनसँग जोडेर हेरिएको छ।
नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति (Joint Committee on Inundation and Flood Management–JCIFM) को पन्ध्रौँ बैठकअन्तर्गत रौतहटको ईशनाथ नगरपालिका–१ क्षेत्रमा रहेको लालबकैया नदी तथा बाँधको अवस्था अवलोकन गरिएको हो।
दिउँसो करिब १ः२५ बजे सुरु भएको निरीक्षणमा रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण मुख्यालय रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, संयुक्त समितिका सदस्य सन्दीप कुमार राजन तथा नेपाल र भारत पक्षका प्राविधिक, प्रशासनिक अधिकारी, स्थानीय जनप्रतिनिधि र सरोकारवालासहित करिब ८० जनाको सहभागिता रहेको थियो।
टोलीले नदीको बहाव, तटबन्धको अवस्था, नदी कटानको जोखिम तथा सम्भावित डुबान क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। निरीक्षणका क्रममा नदी किनारका संवेदनशील क्षेत्र, विगतमा बाढीबाट प्रभावित बस्ती तथा कृषि क्षेत्रमा पुगेर स्थानीय अवस्थाबारे जानकारी लिइएको सहभागीहरूले बताएका छन्।
रौतहटको उत्तरी तथा पूर्वी क्षेत्र हुँदै बग्ने लालबकैया नदी वर्षायाममा उग्र बन्दै जाँदा तटीय बस्तीमा डुबान, खेतियोग्य जमिनमा कटान तथा भौतिक संरचनामा क्षति पुर्याउने गरेको छ। स्थानीय बासिन्दाले विगतदेखि नै नदी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक रहेको माग गर्दै आएका छन्।
संयुक्त निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधिहरूले नदी नियन्त्रणका लागि निर्माण गरिएका केही संरचनाको संरक्षण र मर्मतमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए। उनीहरूले नदी कटान बढ्दै गएका स्थानमा थप सुरक्षात्मक संरचना निर्माण गर्नुपर्ने र बाढीको समयमा उद्धार तथा पूर्वतयारीलाई सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए।
सीमापार बहने नदीका कारण उत्पन्न हुने समस्या समाधानका लागि नेपाल र भारतबीचको समन्वय अपरिहार्य रहेको भन्दै निरीक्षण टोलीले नदी व्यवस्थापनका विषयमा दुवै देशका निकायबीच निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालेको छ। टोलीले नदी तथा तटबन्धको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुझाव सम्बन्धित निकायमा पठाउने जनाएको छ।
लालबकैया नदीसँग जोडिएका रौतहटका विभिन्न बस्ती वर्षेनि बाढी र डुबानबाट प्रभावित हुने गरेका छन्। त्यसैले स्थानीयवासीले संयुक्त निरीक्षणलाई सकारात्मक रूपमा लिँदै यसबाट ठोस कार्ययोजना र प्रभावकारी कार्यान्वयनको अपेक्षा गरेका छन्।
नेपाल–भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समिति सीमावर्ती क्षेत्रमा बाढी, डुबान र नदी नियन्त्रणसम्बन्धी समस्या समाधानका लागि गठन गरिएको द्विपक्षीय संयन्त्र हो। समितिले समय–समयमा दुवै देशका प्रभावित क्षेत्रको अनुगमन गर्दै प्राविधिक तथा नीतिगत सुझाव दिने गरेको छ।
वर्षायाम अझै सक्रिय रहेकाले लालबकैया नदीको बहाव र तटबन्धको अवस्थामाथि सम्बन्धित निकायले निरन्तर निगरानी बढाउनुपर्ने आवश्यकता स्थानीय स्तरमा महसुस गरिएको छ।