रौतहट । रौतहटमा पछिल्लो तीन दिनभित्र तीन किशोरी तथा युवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। फरक–फरक स्थानीय तहमा भएका यी घटनाले अभिभावक, स्थानीय समुदाय र सरोकारवालाबीच चिन्ता बढाएको छ। मृत्यु भएका तीनै जनाको उमेर १४ देखि १८ वर्षबीच रहेको प्रहरीले जनाएको छ।
सबैभन्दा पछिल्लो घटना गढीमाई नगरपालिका–७ धनाडी टोलमा भएको हो। बिहीबार बिहान १७ वर्षीया राधिका कुमारी आफ्नै सुत्ने कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। परिवारका सदस्यले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी धरमपुरबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राख्दै अनुसन्धान थालेको छ।
यसअघि राजदेवी नगरपालिका–२ हजमिनियामा १८ वर्षीया रोशनी कुमारी यादव आफ्नै घरको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। बुधबार रातिको उक्त घटनाबारे जानकारी पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
त्यसअघि साउन २० गते मौलापुर नगरपालिका–३ गम्हरियाकी १४ वर्षीया आर्चना कुमारी यादव घरबाट करिब ८ सय मिटर टाढा रहेको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मौलापुरको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको थियो।
लगातार तीन दिनको अन्तरालमा तीन किशोरी तथा युवतीको मृत्यु भएपछि जिल्लामा मानसिक स्वास्थ्य, पारिवारिक वातावरण, सामाजिक दबाब र किशोरावस्थामा देखिने मनोवैज्ञानिक समस्याबारे गम्भीर बहस सुरु भएको छ। यद्यपि तीनै घटनाको कारणबारे प्रहरीले कुनै निष्कर्ष निकालिसकेको छैन।
प्रहरीका अनुसार घटनास्थलबाट कुनै शंकास्पद सामग्री फेला नपरेको र मृत्युका वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन तथा थप अनुसन्धानपछि मात्र खुल्नेछ। तीनै घटनामा कानुनी प्रक्रिया अघि बढाइएको छ।
स्थानीय अगुवाहरूले किशोर–किशोरीमा बढ्दो मानसिक तनाव, सामाजिक सञ्जालको प्रभाव, पारिवारिक संवादको अभाव र भावनात्मक समस्यालाई समयमै सम्बोधन गर्न नसक्दा यस्ता दुःखद घटना बढ्न सक्ने बताएका छन्। उनीहरूले विद्यालय, परिवार र स्थानीय तहले संयुक्त रूपमा परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
रौतहटमा छोटो अवधिमै कम उमेरका तीन युवतीको असामयिक मृत्युले एउटा गम्भीर प्रश्न उठाएको छ"के हाम्रो समाजले आफ्ना किशोर–किशोरीको मानसिक अवस्था बुझ्न पर्याप्त प्रयास गरिरहेको छ ? प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।