रौतहट, साउन २२ । रौतहटको राजदेवी नगरपालिकामा एक १८ वर्षीया युवती आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
राजदेवी नगरपालिका–२ हजमिनिया निवासी राकेश यादवकी १८ वर्षीया छोरी रोशनी कुमारी यादव आफ्नै एकतले कच्ची घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार रोशनीले कोठाको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा रहेको भन्ने खबर प्राप्त भएपछि सुरक्षा निकाय तत्काल घटनास्थल पुगेका थिए। घटनाको समय भने यकिन हुन सकेको छैन।
घटनाबारे सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटबाट सशस्त्र प्रहरी निरीक्षक निराश गुरुङको नेतृत्वमा सात सदस्यीय टोली तथा प्रहरी चौकी ब्रह्मपुरीबाट अमित कुमार सिंहको नेतृत्वमा तीन सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान जारी रहेकाले मृत्युको कारणबारे आधिकारिक निष्कर्ष आउन बाँकी रहेको प्रहरीको भनाइ छ। परिवारजन तथा स्थानीयवासी घटनापछि शोकमा डुबेका छन्।