रौतहट,२१ साउन । रौतहटको गढीमाई नगरपालिका–८ अन्तर्गत मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव को गाउँ बिरनगरा र धोबिनिया क्षेत्रका किसानहरू पानीको डुबानबाट प्रभावित भएका छन्। स्थानीयका अनुसार पानी निकासको उचित व्यवस्था नहुँदा करिब १०० बिघाभन्दा बढी धानखेती जलमग्न भएको छ।
स्थानीय किसानहरूले विगतदेखि नै यस क्षेत्रमा स्थायी पानी निकासको व्यवस्था हुनुपर्ने माग गर्दै आए पनि आवश्यक पूर्वाधार निर्माण नभएकाले हरेक वर्ष वर्षायाममा खेतीयोग्य जमिन डुबानमा पर्ने समस्या दोहोरिने गरेको बताएका छन्। उनीहरूका अनुसार मुख्यमन्त्रीले प्रदेशका विभिन्न गाउँ तथा सहरमा विकासका काम अघि बढाए पनि आफ्नै वडाको यस समस्यामा पर्याप्त ध्यान नपुगेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
धोबिनिया गाउँ नजिकै नहर भए पनि पक्की नाला तथा प्रभावकारी निकास प्रणाली नहुँदा खेतमा पानी जम्ने समस्या बढेको स्थानीयको भनाइ छ। यसअघि गाउँको पानी राप्रवेश यादव र मिश्रीलाल यादवको खेत हुँदै निकास हुने गरेकोमा अहिले उक्त स्थानमा माटोको बाँध बनाइएकाले पानीको बहाव रोकिएको र धानबाली डुबानमा परेको किसानहरूको आरोप छ।
समस्याको समाधान खोज्न किसान, जनप्रतिनिधि तथा सुरक्षाकर्मीको संयुक्त टोलीले बिहीबार बिहान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी छलफल गरेको थियो। तर किसानहरूले तत्कालीन उपायभन्दा पनि दीर्घकालीन रूपमा पानी निकासको स्थायी व्यवस्था गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने माग राखेका छन्।स्थानीयवासीले खेती जोगाउने, पानी निकासको स्थायी संरचना निर्माण गर्ने तथा प्रभावित किसानलाई आवश्यक राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।