रौतहट,२१ साउन । घाइते जेन्जी नेपालका महासचिव सञ्जीव झाले घाइते समुदायको समस्या, अवस्था र आवश्यकताको तथ्यांक संकलन गर्दै संगठन निरन्तर सक्रिय रहेको बताएका छन्। आफू स्वयं घाइते अवस्थामै रहे पनि देशभरका घाइतेहरूको हकहितका लागि अभियान जारी रहेको उनले बताए।
बिहीबार घाइते जेन्जी नेपालको केन्द्रीय कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव झाले घाइतेहरूको आवाजलाई संस्थागत रूपमा उठाउन कार्यालय स्थापना महत्वपूर्ण उपलब्धि भएको बताए। “हामी आफैँ घाइते छौँ, तर हाम्रो समुदायको अवस्था के छ भन्ने विषयमा तथ्यांक संकलन गरी निरन्तर अगाडि बढिरहेका छौँ,” उनले भने।
उनले कार्यालय स्थापना गर्न गृह मन्त्री सुदन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देखाएको सकारात्मक पहलको प्रशंसा गरे। घाइतेहरूको मुद्दालाई राज्यको प्राथमिकतामा राख्न दुवै मन्त्रीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
झाले गृह मन्त्री गुरुङलाई उद्धृत गर्दै सरकार घाइतेहरूको समस्या समाधानका लागि सधैँ तयार रहेको बताए। “हामीलाई सरकारको ढोका चौबिसै घण्टा खुला छ भन्ने विश्वास दिलाइएको छ। माननीय गृह मन्त्री सुदन गुरुङ रातिको बाह्र बजे पनि फोन गरेर घाइतेहरूको अवस्था बुझ्नुहुन्छ,” उनले भने।
घाइतेहरूको पीडालाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै उनले भने, “हाम्रो नाममा कसैले राजनीति नगरिदिनुहोस्। घाइतेहरूको मुद्दा मानवताको विषय हो, यसलाई राजनीतिक लाभ–हानिसँग जोड्नु हुँदैन।”
कार्यक्रममा गृह मन्त्री सुदन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्की, विभिन्न मन्त्रालयका सचिवहरू तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उपस्थित विशिष्ट व्यक्तित्वहरूले घाइते नागरिकहरूको उपचार, पुनःस्थापना, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनका विषयमा राज्यको प्रतिबद्धता दोहोर्याएका थिए। कार्यक्रममा घाइते समुदायका प्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।
नवनिर्मित कार्यालयमार्फत देशभरका घाइतेहरूको तथ्यांक व्यवस्थापन, समस्या पहिचान, नीतिगत पैरवी तथा सम्बन्धित निकायसँग समन्वय गरी अधिकार सुनिश्चित गर्ने कार्यलाई थप प्रभावकारी बनाइने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।