रौतहट, साउन २१ — रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना हुँदा आगलागी भएको छ। शुक्रबार बिहान भएको उक्त घटनामा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको भए पनि मानवीय क्षति भने हुन पाएन।
प्रहरीका अनुसार वीरगन्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर बिहान करिब ५ः३० बजे सडकमा अचानक आएको मृगलाई जोगाउने क्रममा अनियन्त्रित भएको थियो। चालकले आकस्मिक ब्रेक लगाउँदा ट्याङ्कर सडकको दाहिने किनारतर्फ पल्टिएको र त्यसलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको कमाण्डमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना गरी १५ सदस्यीय टोली घटनास्थल पुगेको थियो। आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाका दमकल परिचालन गरिएको थियो।
पेट्रोल बोकेको ट्याङ्करमा लागेको आगोका कारण केही समय घटनास्थल तनावग्रस्त बनेको थियो। ज्वालासहित बाक्लो धुवाँ निस्किएपछि आसपासका स्थानीय त्रसित बनेका थिए। सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले राजमार्ग क्षेत्रमा आवतजावतलाई व्यवस्थित गरेको थियो।
प्रहरीका अनुसार बिहान ६ः५० बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। आगलागीका कारण ट्याङ्कर पूर्ण रूपमा क्षति भएको छ। यद्यपि चालक समयमै सुरक्षित रूपमा बाहिर निस्कन सफल भएकाले मानवीय क्षति हुन पाएन।
ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङ रहेको प्रहरीले जनाएको छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ।
आगलागीपछि केहीबेर प्रभावित बनेको महेन्द्र राजमार्ग अहिले पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत कारण र क्षतिको यथार्थ विवरण संकलन गर्ने काम भइरहेको छ।
घटनाले पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनको सुरक्षासम्बन्धी संवेदनशीलतालाई पुनः उजागर गरेको छ। समयमै दमकल र सुरक्षाकर्मी परिचालन गरिएकाले सम्भावित ठूलो मानवीय तथा भौतिक क्षति टरेको स्थानीयले बताएका छन्।