रौतहट, साउन २२ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा खोलाले बगाउँदा एक भैँसीको मृत्यु भएको छ। घटनाबाट किसानलाई करिब एक लाख रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको छ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका–२ स्थित डोरी खोलामा बिहीबार दिउँसो चरिरहेको भैँसी अचानक खोलामा पसेपछि बाढीको बहावले बगाएको प्रहरीले जनाएको छ।
स्थानीयवासी दिनेश मण्डलको भैँसी उनका भाइ बसन्त मण्डलले खोला किनारमा चराइरहेका बेला घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार भैँसी अचानक खोलातर्फ गएपछि तीव्र बहावमा परेर बग्न पुगेको थियो।
घटनापछि स्थानीयवासी र परिवारजनले खोजतलास थालेका थिए। खोजीका क्रममा साँझ करिब ५ बजे भैँसी खोलामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गंगापिपराबाट प्रहरी नायब निरीक्षक सिताराम घिमिरेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरेपछि साँझ ६:५० बजे भैँसीलाई खाल्डो खनेर गाडिएको जनाएको छ।
प्रहरीका अनुसार मृत भैँसीको अनुमानित मूल्य करिब एक लाख रुपैयाँ रहेको छ। बाढी र खोलाको बढ्दो बहावका कारण नदी तथा खोलाछेउमा पशु चौपाया चराउँदा विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
डोरी खोलास्थित घटनास्थल इलाका प्रहरी कार्यालय गंगापिपराबाट करिब दुई किलोमिटर पूर्वतर्फ पर्दछ। लगातारको वर्षासँगै जिल्लाका नदी तथा खोलाहरूमा पानीको सतह बढ्दै गएको छ, जसले पशुचौपाया र मानव बस्ती दुवैलाई जोखिममा पारेको स्थानीयले बताएका छन्।