रौतहट, साउन २२ । रौतहटको यमुनामाई गाउँपालिकास्थित झाँझ खोलामा आएको बाढीका कारण बाँधको करिब २० मिटर भाग भत्किएपछि जोखिम बढेको क्षेत्रको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ।
बिहीबार दिउँसो यमुनामाई गाउँपालिका–१, २, ३ र ४ अन्तर्गत पर्ने झाँझ खोलाको तटीय क्षेत्रमा पुगेको टोलीले बाढीबाट प्रभावित तथा डुबानको जोखिममा रहेका बस्तीहरूको अवस्था अवलोकन गरेको हो। बाढीका कारण बाँधको एक भाग कटान भएपछि आसपासका बस्ती, कृषि योग्य जमिन तथा पूर्वाधार थप जोखिममा परेका छन्।
अनुगमन टोलीमा रौतहट निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेश चौधरी, प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, नेपाली सेनाका कर्नेल, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रामहरी अधिकारी तथा यमुनामाई गाउँपालिकाका जनप्रतिनिधिहरू सहभागी थिए।
टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै तत्काल जोखिम न्यूनीकरण, तटबन्ध संरक्षण तथा सम्भावित डुबानबाट स्थानीय बासिन्दालाई सुरक्षित राख्न आवश्यक पहलका विषयमा छलफल गरेको बताइएको छ।
स्थानीयवासीले प्रत्येक वर्ष बाढी र कटानको समस्या दोहोरिने गरेको गुनासो गर्दै दीर्घकालीन समाधानको माग गरेका छन्। उनीहरूले अस्थायी मर्मतभन्दा पनि बलियो तटबन्ध निर्माण र नदी नियन्त्रणका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
दिउँसो १:३० बजे सुरु भएको अनुगमन तथा निरीक्षण कार्यक्रम करिब ३:३० बजे सम्पन्न भएको थियो। झाँझ खोलाको उक्त जोखिमग्रस्त क्षेत्र प्रहरी चौकी सुकदेवचोकबाट करिब एक किलोमिटर पूर्वतर्फ पर्दछ।
बाढीको जोखिम बढ्दै गएपछि सुरक्षा निकाय, स्थानीय तह र प्रशासनले नदीको अवस्थामाथि निरन्तर निगरानी राखेको जनाएको छ। स्थानीयलाई सतर्क रहन तथा आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन पनि आग्रह गरिएको छ।