रौतहट, साउन २२ गते । रौतहटको यमुनामाई गाउँपालिकामा साथीहरूसँग नुहाउन गएका ६ वर्षीय एक बालक बेपत्ता भएका छन्। घरबाट करिब एक किलोमिटर पश्चिमस्थित सडकछेउको कल्भर्टमा नुहाउन गएका बालक साँझसम्म घर नफर्किएपछि परिवार र प्रहरीले खोजी कार्य तीव्र बनाएका छन्।
यमुनामाई गाउँपालिका–५ निवासी सरमुला मियाका ६ वर्षीय छोरा खुसी आलम बिहीबार अपराह्न करिब ३:३० बजे गाउँका ४–५ जना साथीहरूसँग नुहाउन गएका थिए। उनीसँग गएका अन्य बालबालिका भने घर फर्किए पनि खुसी आलम नफर्किएपछि परिवारमा चिन्ता बढेको थियो।
परिवारका सदस्यले आफन्त, छिमेकी तथा सम्भावित स्थानहरूमा खोजतलास गर्दा समेत बालकको अवस्था पत्ता नलागेपछि उनका बुबा सरमुल मियाले साँझ करिब ७:३० बजे अस्थायी प्रहरी पोष्ट बमनहरमा जानकारी गराएका थिए।
जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक (प्र.स.नि.) सञ्जीप सिंहको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीले स्थानीय बासिन्दासँगको समन्वयमा सम्भावित स्थानहरूमा खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ।
प्रहरीका अनुसार बेपत्ता बालक खुसी आलमको उचाइ करिब ३ फिट, वर्ण गहुँगोरो रहेको छ। उनले हराउँदा सेन्डो भेस्ट र निलो रंगको पाइन्ट लगाएका थिए।
बालक हराएको स्थान अस्थायी प्रहरी पोष्ट बमनहरबाट करिब एक किलोमिटर पश्चिमतर्फ पर्छ। रातिसम्म पनि बालक फेला नपरेपछि खोजी कार्य थप सघन बनाइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीले पनि बालकको खोजीमा सहयोग गरिरहेका छन्। प्रहरीले बालकबारे कुनै जानकारी वा सुराकी पाए तत्काल नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।