रौतहट, साउन २३ गते। चन्द्रपुर नगरपालिकामा राजनीतिक र प्रशासनिक नेतृत्वबीचको टकराव सतहमा आएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले, कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण राज कुश्वार र केही जनप्रतिनिधिको भूमिकालाई लिएर नगरभित्र विवाद चर्किंदै गएको छ। नगरपालिकाको बजेट कार्यान्वयन, बैंक खाता सञ्चालन, विकास निर्माणका भुक्तानी र प्रशासनिक कामकारबाही प्रभावित भएको भन्दै जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
वडा अध्यक्ष राउत, कार्यपालिका सदस्य कुश्वारको भूमिकामाथि प्रश्न उठ्न थालेपछि नगरभित्रको विवाद थप पेचिलो बनेको हो।
यी दुई जनाको कारण पनि नगरपालिकामा आन्तरिक द्वन्द झन चर्किएको स्रोतको दाबी छ।
नगरपालिकाभित्रको विवाद अहिले यति बढेको छ कि आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन नै प्रभावित हुने अवस्था देखिएको स्रोतहरूको दाबी छ। नगरसभाबाट बजेट पारित भएको लामो समय बितिसक्दा पनि आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा विकास निर्माणका काम, सेवा प्रवाह र भुक्तानी प्रक्रिया अवरुद्ध बनेको आरोप लगाइएको छ।
नगरपालिकाका एक कार्यपालिका सदस्यका अनुसार, श्रावण ७ गते सम्पन्न नगरसभापछि आवश्यक निर्णयहरू कार्यान्वयन गर्नुपर्नेमा नगर प्रमुखले सम्बन्धित कागजात र निर्णय प्रक्रियालाई नियन्त्रणमा राखेर बैंक खाता सञ्चालनमा ढिलाइ गराइरहेका छन्।
“नगरसभा सम्पन्न भइसकेपछि खाता सञ्चालन गरेर बजेट कार्यान्वयन सुरु हुनुपर्थ्यो,” ती सदस्यले भने, “तर विभिन्न बहानामा प्रक्रिया रोकिँदा विकास निर्माण, स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनका कार्यक्रम नै प्रभावित भएका छन्।”
गत आर्थिक वर्षमा सम्पन्न भएका दर्जनौं योजना तथा ठेक्का सम्झौताअन्तर्गतका कामको भुक्तानी अझै हुन नसकेको गुनासो उपभोक्ता समिति र निर्माण व्यवसायीले गरेका छन्।
नगरपालिकाका एक कर्मचारीका अनुसार, “काम सम्पन्न भएर प्राविधिक प्रतिवेदन र आवश्यक कागजात तयार भइसकेका धेरै योजनाको भुक्तानी हुन सकेको छैन। यसले उपभोक्ता समिति र निर्माण व्यवसायीलाई आर्थिक संकटमा पारेको छ।”
स्रोतका अनुसार नगर प्रमुखले ती विषयलाई प्राथमिकतामा नराख्दा विकास साझेदार र सेवाग्राही दुवै प्रभावित भएका छन्।
’
नगरपालिकामा विपद् व्यवस्थापन, मानव स्वास्थ्य तथा पशु स्वास्थ्यसँग सम्बन्धित अत्यावश्यक कार्यक्रम सञ्चालनमा समेत अवरोध सिर्जना भएको आरोप छ।
वर्षायाममा बाढी, डुबान तथा अन्य विपद्को जोखिम बढिरहेका बेला आवश्यक निर्णय र खर्च स्वीकृतिमा ढिलाइ हुँदा स्थानीय तहको तयारी कमजोर बनेको कर्मचारीहरूको भनाइ छ।
“जनताको ज्यानसँग जोडिएका विषयमा समेत अनावश्यक विवाद हुनु दुःखद हो,” एक कर्मचारीले भने, “विपद् व्यवस्थापन जस्तो संवेदनशील क्षेत्रमा पनि प्रशासनिक अवरोध हुनु उचित होइन।”
नगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारीहरूले पछिल्ला महिनामा काम गर्ने वातावरण खस्किएको बताएका छन्।
कर्मचारी स्रोतका अनुसार नगर प्रमुखले विभिन्न शाखामा आफूनिकट व्यक्तिहरूलाई पठाएर कर्मचारीमाथि दबाब सिर्जना गर्ने, काममा अनावश्यक हस्तक्षेप गर्ने तथा मानसिक तनाव दिने गरेको आरोप छ।
“हामीलाई काम गर्नुभन्दा पनि अनावश्यक दबाब र आरोपको सामना गर्नुपरेको छ,” एक कर्मचारीले नाम नछाप्ने सर्तमा भने, “यसले कार्यालयको कार्यसम्पादनमा असर परेको छ।”
कर्मचारीहरूले जिन्सी शाखा प्रमुख मिश्रीलाल साह, लेखा प्रमुख अर्पणा देवकोटा, इन्जिनियर भरत श्रीवास्तव, प्रशासन शाखा प्रमुख उमा गैरापिप्ली र शिक्षा शाखा प्रमुख दीपेन्द्र मण्डल लगायतका कर्मचारीमाथि पनि विभिन्न प्रकारका दबाब परेको दाबी गरेका छन्।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकाललाई लिएर पनि विवाद देखिएको छ।
स्रोतहरूका अनुसार ढकालले वित्तीय अनुशासन, राजस्व व्यवस्थापन र खर्च नियन्त्रणमा कडाइ गरेपछि नगर प्रमुखसँग सम्बन्ध चिसिएको हो।
एक वडा अध्यक्षले नाम नबताउने सर्तमा भने, “पहिले विभिन्न शीर्षकमा हुने खर्चमा नियन्त्रण आएको छ। राजस्व व्यवस्थापन व्यवस्थित भएको छ। त्यसैले अहिलेको प्रशासनिक नेतृत्वप्रति असन्तुष्टि देखिएको हो।”
ती वडा अध्यक्षका अनुसार हालका प्रमुख प्रशासकीय अधिकृत कायम रहेसम्म नगरपालिकाका स्रोत–साधनको प्रयोगमा विगतजस्तो स्वेच्छाचारी निर्णय गर्न कठिन भएको महसुस गर्दै नगर प्रमुखले आफ्नो अनुकूलको प्रमुख प्रशासकीय अधिकृत ल्याउन विभिन्न तहमा पहल गरिरहेको चर्चा नगरपालिकाभित्र छ।
नगरपालिकाको आम्दानीको प्रमुख स्रोत मानिने हाटबजार, नुनथर, निकासी कर तथा अन्य राजस्व क्षेत्रलाई लिएर पनि विवाद चर्किएको छ।
स्रोतहरूका अनुसार विगतमा केही राजस्व स्रोत अमानतमा सञ्चालन हुने गरेकोमा हाल ती स्रोतहरू ठेक्का प्रक्रियामार्फत व्यवस्थापन गर्न थालिएको छ।
“सबै आयस्रोतलाई प्रतिस्पर्धात्मक ठेक्कामा लगाउँदा राजस्व पारदर्शी भएको छ,” एक जनप्रतिनिधिले दाबी गरे, “यसबाट नगरपालिकाको आम्दानी बढेको छ तर केही व्यक्तिहरू त्यसबाट असन्तुष्ट देखिन्छन्।”
चार्जिङ स्टेशन सञ्चालनसम्बन्धी विषयमा समेत लामो समयसम्म अवरोध भएको आरोप लगाइएको छ।
नगरपालिकाका कर्मचारी र केही जनप्रतिनिधिको दाबी अनुसार प्रमुख प्रशासकीय अधिकृत ढकाल आएपछि सेवा प्रवाहमा सुधार देखिएको थियो।
वडा कार्यालय र नगरपालिकामा नागरिकले सेवा लिन सहज भएको, इन्धन लगायतका स्रोतको दुरुपयोगमा नियन्त्रण आएको तथा प्रशासनिक अनुशासन बढेको उनीहरूको भनाइ छ।
“पहिलेको तुलनामा अहिले कार्यालयको काम छिटो र व्यवस्थित हुन थालेको थियो,” एक कर्मचारीले भने, “तर राजनीतिक–प्रशासनिक द्वन्द्वले त्यो वातावरण फेरि प्रभावित हुन थालेको छ।
नगरपालिकाभित्रको यो विवाद अब केवल व्यक्ति–व्यक्तिबीचको असहमति मात्र नभई सुशासन, पारदर्शिता र स्थानीय सरकारको प्रभावकारितासँग जोडिएको विषय बनेको स्थानीय बुद्धिजीवीहरूको भनाइ छ।
वडा नं. १ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक बलराम राउत, कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण राज कुश्वार र नगर प्रमुख सञ्जयकुमार काफ्लेलाई लिएर उठेका आरोप–प्रत्यारोपले स्थानीय राजनीति थप तरंगित बनेको छ।
नगरपालिकाका जानकारहरू भन्छन्, “जनताले स्थानीय सरकारबाट सेवा, विकास र सुशासन खोजेका छन्। नेतृत्वबीचको टकरावले विकास रोकिए जनताले नै मूल्य चुकाउनुपर्ने हुन्छ।”
चन्द्रपुर नगरपालिकाभित्र देखिएको यो शक्ति संघर्ष अब कसरी समाधान हुन्छ भन्नेमा स्थानीयको चासो केन्द्रित छ। एकातर्फ जनप्रतिनिधिहरूबीच आरोप–प्रत्यारोप जारी छ भने अर्कोतर्फ सेवाग्राहीहरू विकास निर्माण र सेवा प्रवाह प्रभावित नहोस् भन्ने अपेक्षामा छन्।