रौतहट। रौतहटको गुजरा नगरपालिकामा वन गस्ती टोलीलाई देख्नासाथ तस्करहरू सालको काठ र साइकल छाडेर फरार भएका छन्।
चोचा सब–डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले बिहीबार बिहान करिब ३ बजे गुजरा नगरपालिका-२ स्थित मैढा क्षेत्रमा गस्ती गरिरहेको बेला साइकलमा साल जातको काठ ओसारपसार भइरहेको फेला पारेको थियो।
वन कार्यालयका अनुसार तस्करहरूले साल जातको गोलिया थान–१, ६.९६ क्युबिक फिट काठ साइकलमा लोड गरी लैजाँदै गरेका थिए। गस्ती टोली नजिकिँदै गरेको देखेपछि उनीहरू काठ र साइकल घटनास्थलमै छाडेर अन्धकारको फाइदा उठाउँदै फरार भएका थिए।
गस्ती टोलीले बरामद गरिएको काठ र साइकल नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन चोचा सब–डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ।
वन कार्यालयका कर्मचारीका अनुसार पछिल्लो समय रौतहटका विभिन्न वन क्षेत्रबाट अवैध रूपमा काठ तस्करी गर्ने प्रयास बढ्दै गएको छ। त्यसलाई नियन्त्रण गर्न रात्रीकालीन गस्ती र निगरानी थप कडा बनाइएको छ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको वन कार्यालयले जनाएको छ। बरामद गरिएको सालको काठको मूल्यांकन तथा वन ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।
यसअघि पनि चोचा क्षेत्रबाट विभिन्न परिमाणमा अवैध काठ बरामद हुँदै आएको छ। वन कार्यालयले स्थानीयलाई वन सम्पदाको संरक्षणमा सहयोग गर्न तथा अवैध गतिविधिबारे जानकारी भए तुरुन्त सम्बन्धित निकायलाई सूचित गर्न आग्रह गरेको छ।