रौतहट। रौतहटको गौर नगरपालिका–३ मा खाजा घरको आवरणमा लागुऔषध गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–६ निवासी ३४ वर्षीय शुभ नारायण साहले सञ्चालन गर्दै आएको “काजल स्टील रेलिङ” नामक खाजा घरबाट गाँजा बिक्री वितरण भइरहेको विशेष सूचनापछि प्रहरी टोली खटिएको थियो।
स्थानीय बजार क्षेत्रमा सञ्चालनमा रहेको खाजा घरबाट लागुऔषध बरामद भएपछि प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध निगरानी थप कडा बनाइएको जनाएको छ। साथै लागुऔषधको बिक्री वितरण तथा ओसारपसार सम्बन्धी सूचना भए तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरिएको छ।
मंगलबार दिउँसो करिब १२ बजे प्रहरीले खाजा घर तथा सञ्चालकको रितपूर्वक खानतलासी गर्दा काउन्टरमा रहेको कालो प्लास्टिकको झोलाभित्र सानो–सानो पुरीयामा प्याक गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त स्थानबाट १२५ वटा पुरीयामा प्याक गरिएको करिब ७ सय ग्राम गाँजा बरामद गरेको छ। बरामद गाँजा बिक्री वितरणका लागि लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको बताइएको छ।
घटनापछि प्रहरीले खाजा घर सञ्चालक शुभ नारायण साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। पक्राउ परेका साहविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।