महोत्तरी। अपाङ्गता भएका व्यक्तिलाई अझै पनि समाजको ठूलो हिस्साले दयाको पात्रका रूपमा हेर्ने प्रवृत्ति कायम छ। तर अधिकार, सम्मान र अवसरका लागि निरन्तर आवाज उठाउँदै आएकी पहिचान नेपालकी कार्यकारी निर्देशक इच्छा केसी यस्ता सोचविरुद्ध संघर्षरत छिन्। महोत्तरीको बर्दिबासस्थित रेड क्राउन होटलमा आयोजित “अपाङ्गता भएका महिलाहरूको आर्थिक अधिकार, कानुनी तथा नीतिगत समीक्षा एवं नीति संवाद कार्यक्रम” मा उनले अपाङ्गता भएका व्यक्तिलाई दया होइन, संविधानले प्रत्याभूत गरेको अधिकार दिनुपर्नेमा जोड दिइन्।
काठमाडौं घर भएकी तथा मधेस प्रदेशको सिम्रौनगढमा विवाह भएकी केसीले आफ्नै जीवनका पीडा र संघर्षलाई सामाजिक अभियानमा रूपान्तरण गर्दै २०७५ सालमा पहिचान नेपालको स्थापना गरेकी थिइन्। त्यसबेला देखि उनले अपाङ्गता भएका व्यक्तिहरू, विशेषगरी महिलाको आर्थिक, सामाजिक र कानुनी सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएकी छन्।
कार्यक्रममा उनले अपाङ्गता भएका व्यक्तिहरूले आर्थिक अभाव मात्र नभई सामाजिक विभेद, मानसिक तनाव र अवसरको अभावसमेत भोगिरहेको बताइन्। त्यसैले उनीहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम, मनोसामाजिक परामर्श, काउन्सिलिङ र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइन्।
केसीले पहिचान नेपालले हाल महोत्तरी, सर्लाही र बारा जिल्लामा कार्यक्रम सञ्चालन गरिरहेको छ र हामीसँग ४२ जना अपांग भएको व्यक्ति सम्पर्कमा भएको बताउदै आगामी दिनमा मधेस प्रदेशका आठवटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राहेको बतमएकी छिन । यसका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको उनले बताइन्।
कार्यक्रममा परामर्शदाता डा. बिरेन्द्रराज पोखरेलले अपाङ्गता भएका महिलाहरूको आर्थिक अवस्था, कानुनी व्यवस्था र नीतिगत चुनौतीबारे प्रस्तुति दिएका थिए। रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहले अपाङ्गता भएका नागरिकको जीवनस्तर सुधारका लागि तीनै तहका सरकारले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। वडा नं. ६ का अध्यक्ष शिवजी सिंह, वडा नं. ३ का अध्यक्ष जयनारायण मण्डललगायतले पनि अपाङ्गता भएका व्यक्तिलाई विशेष अवसर र पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमको सबैभन्दा भावुक र प्रेरणादायी क्षण सर्लाहीको कविलासी नगरपालिका–८ निवासी अञ्जु देवी साहले आफ्नो जीवन संघर्ष सुनाउँदा देखियो। उनले समाजमा अपाङ्गता भएका महिलाले भोग्नुपर्ने पीडा, विभेद र संघर्षको यथार्थ चित्र प्रस्तुत गरिन्।
अञ्जुका अनुसार विवाहका बेला माइती पक्षले १५ कठ्ठा जग्गासहित पर्याप्त दाइजो दिए पनि दृष्टिविहीन भएकै कारण ससुरालीमा सम्मान र माया पाउन सकिनन्। उनले आफ्नै श्रीमान् र परिवारबाट पटक–पटक अपमान, हिंसा र दुर्व्यवहार भोग्नुपरेको तथा अन्ततः घरबाट निकालिएको पीडादायी अनुभव सुनाइन्।
“आँखाले देख्न सक्दिनँ भनेर मलाई कमजोर ठानियो, तर मैले जीवनसँग हार मानिनँ,” उनले कार्यक्रममा भनिन्।
उनले आफ्नो पहिलो सन्तान छोरीलाई समेत गुमाउनुपरेको पीडा सुनाउँदै त्यसपछि जीवनमा अनेकौं दुःखका पहाडहरू आइपरे पनि संघर्ष छोड्न नसकेको बताइन्। पछि उनका दुई छोरा र एक छोरी भए। तीमध्ये एक छोरा अपाङ्गता भएको, अर्का छोरा स्वस्थ रहेको र छोरीले पनि पढाइमा उत्कृष्ट प्रगति गरेको उनले जानकारी दिइन्।
अहिले उनका एक छोरा शिक्षक सेवामा नाम निकालेर उच्च शिक्षा अध्ययन गरिरहेका छन् भने अर्का छोरा दन्त चिकित्सक (डेन्टल डाक्टर) बनेर अमेरिकामा कार्यरत रहेको उनले गर्वका साथ सुनाइन्। उनकी छोरी पनि शिक्षिका बनेर सेवा गरिरहेकी छन्।
उनको संघर्षपूर्ण जीवनकथा सुनेपछि कार्यक्रम हल केहीबेर भावुक बनेको थियो। सहभागीहरूले अञ्जुको साहस, आत्मविश्वास र संघर्षशीलतालाई उदाहरणीय भन्दै सम्मान व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले संविधानले अपाङ्गता भएका व्यक्तिलाई अधिकार दिएको भए पनि व्यवहारमा अझै विभेद र बहिष्करण कायम रहेको बताएका थिए। उनीहरूले नीति निर्माण, बजेट विनियोजन र विकासका सबै तहमा अपाङ्गता भएका व्यक्तिको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको निष्कर्षमा अपाङ्गता भएका व्यक्तिहरूलाई दयाको पात्र होइन, अधिकारसहितको नागरिकका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिइएको थियो। यस अभियानलाई मधेसका गाउँदेखि नीति निर्माणका केन्द्रसम्म पुर्याउने प्रयासमा इच्छा केसी र पैसान नेपाल निरन्तर सक्रिय रहेको बताइएको छ।
आफ्नै पीडालाई हजारौं अपाङ्गता भएका व्यक्तिको आवाजमा रूपान्तरण गरेकी इच्छा केसी र संघर्षलाई सफलतामा बदल्न सफल अञ्जु देवी साहजस्ता व्यक्तित्वहरूले समाजलाई महत्वपूर्ण सन्देश दिएका छन्—शारीरिक सीमितता जीवनको अन्त्य होइन, अवसर पाएमा त्यो सफलताको नयाँ सुरुवात बन्न सक्छ।