रौतहट, साउन २८ — रौतहटको कटहरिया नगरपालिकामा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
जिल्लाको कटहरिया नगरपालिका–५ बहादुरपुर निवासी प्रल्हाद साहका १८ वर्षीय छोरा रमेश जैसवाल आफ्नै घरको छतमाथि झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार रमेशले घरको भुइँतल्ला माथिको छतमा रहेको पिलरको रडमा कालो तारको पासो लगाई आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाको जानकारी बिहीबार बिहान प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले घटनास्थलको मुचुल्का तथा आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरेपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। शव बुधबार बिहान ९ः५० बजे अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।