रौतहट, साउन २७ गते। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संघीय गृहमन्त्री सुदन गुरुङसँग भेट गरी प्रदेशको शान्ति सुरक्षा, प्रहरी समायोजन तथा संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयमा छलफल गरेका छन्।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बुधबार भएको भेटवार्तामा मधेश प्रदेशको वर्तमान शान्ति सुरक्षाको अवस्था, प्रदेश सरकारका अधिकार कार्यान्वयन तथा समसामयिक विषयमा विस्तृत छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
भेटका क्रममा मुख्यमन्त्री यादवले संविधानले व्यवस्था गरेको प्रहरी समायोजन प्रक्रिया यथाशीघ्र कार्यान्वयन गर्न गृहमन्त्री गुरुङलाई आग्रह गरेका छन्। उनले संघीय संरचनालाई प्रभावकारी र सबल बनाउन प्रहरी समायोजन अपरिहार्य रहेको उल्लेख गर्दै यसलाई थप ढिलाइ नगर्न आग्रह गरेका हुन्।
मुख्यमन्त्री यादवले जनकपुरधाममा आयोजित निर्वाचन सभाका क्रममा प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धता स्मरण गराउँदै प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन प्रहरी समायोजनसहित आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्था कार्यान्वयन गर्न संघीय सरकारको ध्यानाकर्षण गराए।
उनले प्रदेशमा स्थायित्व, सुशासन र विकासलाई थप प्रभावकारी बनाउन निजामती सेवा सम्बन्धी कानुनको कार्यान्वयनमा पनि संघीय सरकारको सहयोग आवश्यक रहेको धारणा राखे।
यसअघि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले प्रदेश सभाबाट पारित मधेश प्रदेश प्रहरी ऐन, निजामती सेवा ऐन तथा प्रहरी समायोजनका लागि हालसम्म भएका पहलसम्बन्धी विवरण समेटिएको पत्र गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए।
मन्त्री महतोका अनुसार मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रदेश प्रहरी भर्ना तथा संरचना विकासका लागि करिब तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी पनि गृहमन्त्रीलाई गराइएको छ।
प्रदेश सरकारले पछिल्लो समय प्रहरी संरचनाको सुदृढीकरण, पूर्वाधार विकास तथा सुरक्षा निकायको क्षमता अभिवृद्धिका लागि गरेको लगानीबारे समेत गृहमन्त्रीलाई जानकारी गराइएको मन्त्री महतोले बताए।
मधेश प्रदेश सभाको पहिलो कार्यकालमै प्रदेश प्रहरी ऐन र निजामती सेवा सम्बन्धी ऐन सर्वसम्मत रूपमा पारित भए पनि ती कानुनको पूर्ण कार्यान्वयन अझै हुन नसकेको प्रदेश सरकारको भनाइ छ।