रौतहट, साउन २७। लामो समयदेखि आन्तरिक विवादका कारण अन्योलमा परेको गरुडा नगरपालिकाको नगरसभा अन्ततः आह्वान गरिएको छ। निर्धारित समयमा बजेट तथा नीति–कार्यक्रम पारित हुन नसकेपछि आलोचनाको केन्द्रमा रहेको नगरपालिकाले आगामी भदौ ५ गते पन्ध्रौं नगरसभा तथा दशौं बजेट अधिवेशन बोलाएको हो।
गरुडा नगरपालिकाले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार नगरसभाको बैठक भदौ ५ गते शुक्रबार बिहान ११ बजे वडा नम्बर ४ स्थित कलवार धर्मशालामा बस्नेछ। नगरसभा सचिव तथा नगरपालिका सचिव नाथु साहद्वारा जारी सूचनामा गाउँ सभा/नगर सभा/जिल्ला सभा कार्य सञ्चालन (कार्यविधि) ऐन, २०७७ को दफा ३(१) बमोजिम नगर सभाको पन्ध्रौं अधिवेशन तथा दशौं बजेट अधिवेशन आह्वान गरिएको उल्लेख छ।
नगरसभाको बैठक नगर प्रमुख तथा नगर सभाका सभाध्यक्ष कन्थमनी प्रसाद कलवारले आह्वान गरेका हुन्। सूचनामार्फत नगर कार्यपालिकाका सदस्य, वडा अध्यक्ष, वडा सदस्य तथा नगरसभाका सम्पूर्ण सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
गरुडा नगरपालिकामा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम समयमै पारित हुन नसक्दा विकास निर्माणका योजना, प्रशासनिक कामकाज र वित्तीय व्यवस्थापन प्रभावित हुँदै आएको थियो। नगर प्रमुख कन्थमनी प्रसाद कलवार, केही जनप्रतिनिधि तथा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतबीच देखिएको आन्तरिक विवादका कारण नगरसभा पटक–पटक प्रभावित भएको नगरपालिकाका स्रोतहरू बताउँछन्।
स्थानीय तह सञ्चालन ऐनअनुसार असार मसान्तको १० गते भित्र आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था भए पनि गरुडामा राजनीतिक र प्रशासनिक खिचातानीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। त्यसले नगरपालिकाको आर्थिक कारोबार, विकास योजना कार्यान्वयन र सेवा प्रवाहसमेत प्रभावित बनेको थियो।
लामो समयपछि नगरसभा आह्वान गरिएसँगै रोकिएका योजना तथा बजेट प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ। यद्यपि नगरसभाबाट बजेट पारित हुने वा पुनः विवाद उत्पन्न हुने भन्ने विषयलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको छ।
नगरपालिकाभित्रको लामो विवादपछि नगरसभा बोलाइएकाले अब जनप्रतिनिधिहरूबीच सहमति कायम गर्दै विकास र सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्ने दबाब बढेको स्थानीयवासीको भनाइ छ।