रौतहट, साउन २७। रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ भने एक बालक अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार दिउँसो करिब १:५० बजे लालबकैया नदीमा नुहाउन गएका तीन बालबालिका नदीको तीव्र बहावमा परेर बेपत्ता भएका थिए। घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले रातभर खोजी जारी राखेको थियो।
बुधबार बिहान करिब ७ बजे घटनास्थलबाट करिब दुई दशमलव पाँच किलोमिटर दक्षिणतर्फ पर्ने परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया नदीमा दुई बालबालिकाको शव तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुन रहेका छन्। दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेको थियो। नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी निरीक्षक डिलबहादुर नेपालीको नेतृत्वमा सात जनाको टोली तथा अस्थायी प्रहरी चौकी जिंगडवाबाट प्रहरी नायब निरीक्षक लालबाबु सहनीको नेतृत्वमा चार जनाको टोली परिचालन गरिएको थियो।
प्रहरीले शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जनाएको छ। घटनापछि लक्ष्मिनिया गाउँ शोकमा डुबेको छ। एउटै गाउँका दुई बालबालिकाको नदीले ज्यान लिएपछि स्थानीयवासी स्तब्ध बनेका छन्।
यसैबीच, नदीमा बेपत्ता भएका अर्का एक बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। लालबकैया नदीमा वर्षायाममा पानीको बहाव बढ्ने र गहिरा खाडलहरू बन्ने भएकाले स्थानीय तह र सुरक्षा निकायले अभिभावकलाई बालबालिकालाई नदीमा एक्लै नजान सचेत गराउन आग्रह गरेका छन्।