रौतहट, साउन २६ गते । रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा तीन जना बालबालिका नदीमा डुबेर बेपत्ता भएका छन्।
प्रहरीका अनुसार मंगलबारदिउँसो करिब १ः५० बजे नदीमा नुहाइरहेका तीन बालबालिका अचानक डुबेर बेपत्ता भएको खबर प्राप्त भएपछि खोज तथा उद्धार कार्य तत्काल सुरु गरिएको हो।
बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका शेख अमरे आलमका अन्दाजी १० वर्षीय छोरा मोहम्मद रमतुल्लाह, शेख खुरौसेदकी अन्दाजी १० वर्षीया छोरी रौशन खातुन तथा शेख ओसी अख्तरकी अन्दाजी १० वर्षीया छोरी सवनम खातुन रहेका छन्।
घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस देवाहीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भक्तबहादुर शाहीको कमाण्डमा सात जनाको टोली र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको कमाण्डमा नौ जनाको टोली घटनास्थल पुगेको थियो। टोलीले नदी क्षेत्रमा खोज तथा उद्धार कार्य तीव्र रूपमा सञ्चालन गरिरहेको छ।
त्यसैगरी दिउँसो २ः४० बजे सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण मुख्यालय रौतहटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक भीमबहादुर पुनको नेतृत्वमा नौ सदस्यीय डाइभिङ तथा विपद् व्यवस्थापन (डीएम) टोली रबर बोटसहित घटनास्थलतर्फ परिचालन गरिएको प्रहरीले जनाएको छ।
नदीको बहाव तथा गहिराइका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको भए पनि सुरक्षा निकायले बेपत्ता बालबालिकाको खोजीलाई तीव्रता दिएको जनाएको छ। घटनापछि स्थानीयवासी तथा बालबालिकाका परिवारजन नदी किनारमा भेला भएका छन् भने गाउँभर शोक र चिन्ताको वातावरण छाएको छ।
प्रहरीले खोज तथा उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।