रौतहट, साउन २६ गते । रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियामा एक १९ वर्षीया महिलाको झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटनापछि प्रहरीले उनका श्रीमानलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ः४५ बजे स्थानीय शेख मोमताजकी कान्छी श्रीमती अकतरी खातुन घरबाट करिब ५०० मिटर उत्तर–पश्चिमतर्फ रहेको पिठुको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी हुन्।
घटनाबारे जानकारी दिउँसो २ः४० बजे इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा प्राप्त हुनासाथ प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा सोको (SOCO) टोलीसहित प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।
घटनालाई शंकास्पद मान्दै प्रहरीले मृतकका श्रीमान् शेख मोमताजलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ। अकतरी खातुनको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ भने घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ। करुनिया गाउँमा युवतीको असामयिक मृत्युले स्थानीयवासी स्तब्ध बनेका छन्।