रौतहट, साउन २६ गते । मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित लालबकैया नदीको तटबन्ध तीव्र कटानका कारण उच्च जोखिममा परेको छ। जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, मौलापुर नगरपालिका तथा सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालयको समन्वयमा तटबन्ध जोगाउने प्रयास भए पनि कटान रोक्न नसकिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार अब नदीको माथिल्लो भेगमा थप वर्षा भई पानीको बहाव बढेमा बाँकी रहेको तटबन्धको भागसमेत बग्ने र नदीको पानी कृषियोग्य जमिन हुँदै गाउँबस्तीमा पस्ने उच्च जोखिम रहेको छ।
प्रहरीले तटबन्ध भत्किएमा मौलापुर नगरपालिकाका वडा नं. १, २, ३, ४ र ५ तथा बौधीमाई नगरपालिकाको अजगैबी क्षेत्र प्रत्यक्ष प्रभावित हुन सक्ने जनाएको छ।
संभावित बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन, आवश्यक तयारी गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न अनुरोध गरिएको छ।
साथै, तटबन्ध संरक्षण तथा सम्भावित विपद् न्यूनीकरणका लागि सम्बन्धित निकायले तत्काल विशेष पहल र प्रभावकारी हस्तक्षेप गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।