रौतहट, २७ साउन — डिभिजन वन कार्यालय रौतहटले जंगलभित्रै चिरान गरी लुकाएर राखिएको साल प्रजातिको काठ बरामद गरेको छ। धनसार र गौडाटार क्षेत्रको सीमावर्ती जंगलमा रात्रिकालीन गस्तीका क्रममा वनकर्मीले बेवारिसे अवस्थामा राखिएको काठ फेला पारेका हुन्।
वन कार्यालयका अनुसार मंगलबार राति करिब साढे ९ बजे धनसार क्षेत्रअन्तर्गतको घना जंगलमा गस्ती गरिरहेका कर्मचारीले जंगलको भित्री भागमा लुकाइराखिएको सालको चिरान काठ बरामद गरेका थिए। काठलाई जंगलमै चिरान गरी सानो आकारको ‘कडी’ बनाइएको अवस्थामा फेला पारिएको कार्यालयले जनाएको छ।
वनकर्मीहरूका अनुसार पछिल्लो समय रात्रिकालीन गस्ती कडा बनाइएपछि काठ तस्करीमा संलग्न समूहले नयाँ शैली अपनाउन थालेका छन्। पहिले जंगलबाट गोलिया काठ बाहिर निकाल्ने प्रवृत्ति रहेकामा अहिले कटानस्थलमै चिरान गरी सानो आकारमा तयार पार्ने र अनुकूल समय पर्खेर बाहिर निकासी गर्ने प्रयास बढ्न थालेको देखिएको उनीहरूको भनाइ छ।
डिभिजन वन कार्यालय रौतहटका अधिकृत अनिलकुमार महतोले बरामद काठ कसले काटेको, चिरान गरेको र कुन प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषय अझै खुल्न नसकेको बताए। “बरामद काठ नियन्त्रणमा लिइसकिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” उनले भने।
वन क्षेत्रभित्रै काठ चिरान गरिएको तथ्यले तस्करीको गतिविधि अझ संगठित बन्दै गएको संकेत गरेको वनकर्मीहरूको बुझाइ छ। जंगलभित्र रुख कटानदेखि चिरानसम्मको काम हुन समय, जनशक्ति र उपकरण आवश्यक पर्ने भएकाले यस्तो गतिविधि कसरी सञ्चालन भयो भन्ने विषय पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ।
डिभिजन वन कार्यालयका प्रमुख मनोज ठाकुरले अवैध कटानी, चोरी तथा काठ निकासी नियन्त्रणका लागि रात्रिकालीन गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको बताए। “बरामद काठको परिमाण यकिन गर्ने काम भइरहेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइनेछ,” उनले भने।
रौतहटका वन क्षेत्रमा पछिल्ला वर्षहरूमा काठ तस्करी नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। जंगलभित्रै काठ चिरान गरी लुकाउने प्रवृत्तिले वन संरक्षण तथा निगरानी प्रणालीमाथि थप दबाब सिर्जना गरेको वन क्षेत्रका जानकारहरू बताउँछन्।