रौतहट, साउन २८ ।रौतहटको वृन्दावन नगरपालिकामा आगलागी हुँदा एक किसानको बाख्रा गोठ पूर्णरूपमा नष्ट भएको छ भने चार वटा पशु जलेर मरेका छन्।
वृन्दावन नगरपालिका–३ बिश्रामपुर निवासी देवेन्द्र साह तेलीको बाख्रा गोठमा बुधबार राति करिब १ बजे आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी बिहीबार बिहान प्राप्त भएपछि प्रहरी चौकी बिश्रामपुरबाट प्रहरी सहायक निरीक्षक रतनेश कुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार आगलागीबाट गोठभित्र रहेका दुई वटा बाख्रा र दुई वटा खसी जलेर मरेका छन्। साथै दुई वटा खसी घाइते भएका छन्। आगोले बाख्रा गोठ पूर्णरूपमा नष्ट गरेको छ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक मूल्यांकनअनुसार आगलागीबाट करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
स्थानीय स्रोतका अनुसार लागुऔषध सेवन गरेका अपरिचित व्यक्तिले आगो लगाएको आशंका गरिएको छ। यद्यपि घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी बिश्रामपुरबाट करिब तीन किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्दछ।