रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा १८ वर्षीय युवक आफ्नै घरको छानोमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार स्थानीय बिनोद सहनीका १८ वर्षीय अविवाहित छोरा गौतम सहनी शुक्रबार बिहान करिब ६ः५५ बजे घरको छानोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उनले दाउरा राख्ने प्रयोजनका लागि प्रयोग हुँदै आएको घरको छानोमा काठको बलोमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी बरियारपुरबाट प्रहरी सहायक निरीक्षक सञ्जय झाको नेतृत्वमा दुईजनाको टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको नेतृत्वमा सोको (SOCO) सहित पाँचजनाको टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ।
घटनास्थल प्रहरी चौकी बरियारपुरबाट करिब दुई किलोमिटर पश्चिममा पर्छ। युवकको शवको आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।