रौतहट । बोलबम यात्राका लागि भारतको बाबाधाम गएका रौतहटको गरुडा नगरपालिका–६ पोठियाहीका एक दम्पती तीर्थयात्राकै क्रममा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएपछि गाउँ शोकमा डुबेको छ। शुक्रबार भारतको झारखण्डमा भएको दुर्घटनामा ६५ वर्षीय नवलकिशोर चौधरी र उनकी ६२ वर्षीया श्रीमती सुन्दरकला देवीको मृत्यु भएको हो। दुवै जनाको शनिबार अन्त्येष्टि गरिएको छ।
धार्मिक आस्थाका साथ बाबाधाम पुगेका उनीहरू घर फर्किने क्रममा दुर्घटनामा परेका थिए। दुर्घटनाको खबरसँगै पोठियाही गाउँ शोकमा डुबेको थियो। भारतमा कानुनी प्रक्रिया र पोस्टमार्टम पूरा भएपछि आफन्तले शनिबार बिहान करिब साढे ८ बजे दुवै शव बुझेका थिए।
भारतबाट ल्याइएका शवलाई आफन्त तथा स्थानीयवासीले गरुडा–६ स्थित झाँझ खोलाको शिवनगर घाटमा पुर्याएका थिए। त्यहीँ हिन्दु संस्कारअनुसार दुवै जनाको अन्त्येष्टि गरिएको हो। अन्त्येष्टिमा ठूलो संख्यामा आफन्त, छिमेकी तथा स्थानीयवासी सहभागी भएका थिए। इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको नेतृत्वमा प्रहरी टोलीसमेत घाटमा पुगेको थियो।
तर, सोही दुर्घटनामा ज्यान गुमाएका १२ वर्षीय शिवम महतोको अन्त्येष्टि भने अझै हुन सकेको छैन। शिवमका बुवा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेकाले छोराको अन्तिम संस्कारका लागि उनी नेपाल फर्किंदै छन्।
शिवमको शव हाल प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ। गाउँमा दुर्घटनामा मृत्यु भएका दम्पतीको अन्त्येष्टि भइरहँदा अस्पतालको शवगृहमा भने १२ वर्षीय बालकको शव बुवाको प्रतीक्षामा छ।
परिवारका अनुसार विदेशमा रहेका शिवमका बुवा नेपाल फर्किएपछि मात्रै छोराको अन्त्येष्टि गरिनेछ। एकातिर छोराको शव शवगृहमा छ भने अर्कोतिर बुवा विदेशबाट अन्तिम संस्कारका लागि घर फर्किंदै छन्। दुर्घटनाले महतो परिवारमा ठूलो बज्रपात परेको छ।
गरुडा–६ पोठियाहीबाट स्थानीय तीर्थयात्रीहरू बोलबम यात्राका लागि भारतको देवघरस्थित बाबाधाम गएका थिए। तीर्थयात्रीहरू सवार बस झारखण्डमा दुर्घटनामा परेको थियो। दुर्घटनामा नवलकिशोर चौधरी, सुन्दरकला देवी र शिवम महतोसहितका यात्रुको मृत्यु भएको जनाइएको छ। रौतहटका अन्य तीर्थयात्रीसमेत दुर्घटनामा घाइते भएका छन्। घाइतेहरूको भारतमै उपचार भइरहेको छ।
धार्मिक यात्राको उत्साह बोकेर बाबाधाम पुगेका तीर्थयात्रीहरू घर फर्किन नपाउँदै भएको दुर्घटनाले पोठियाहीको वातावरणलाई शोकमा परिणत गरिदिएको छ। एउटै दुर्घटनाले एकै गाउँका परिवारमा पारेको पीडाले तीर्थयात्राको खुसीलाई क्षणभरमै मातममा बदलिदिएको छ।