रौतहट, ३० साउन । शुक्रबार भारतको झारखण्डमा भएको सवारी दुर्घटनामा मृत्यु भएका रौतहट गरुडा नगरपालिका–६ पोठियाहीका दुई तीर्थयात्रीको शनिबार दाहसंस्कार गरिएको छ ।
बोलबम यात्राका क्रममा भारतको बाबाधाम गएका गरुडा–६ पोठियाहीका ६५ वर्षीय नवलकिशोर चौधरी र ६२ वर्षीया सुन्दरकला देवीको दुर्घटनामा मृत्यु भएको थियो । भारतमा पोस्टमार्टमपछि आफन्तले शनिबार बिहान करिब साढे ८ बजे शव बुझेर नेपाल ल्याएका थिए ।
नेपाल ल्याइएका दुवै शवलाई आफन्त तथा स्थानीयवासीले गरुडा–६ स्थित झाँझ खोलाको शिवनगर घाटमा लगेर दाहसंस्कार गरेका हुन् । दाहसंस्कार भइरहेका बेला इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
यसै दुर्घटनामा मृत्यु भएका सोही स्थानका राजेश महतोका १२ वर्षीय छोरा शिवम महतोको शव भने प्रादेशिक अस्पताल गौरको शवगृहमा राखिएको छ । शिवमका बुवा वैदेशिक रोजगारीमा रहेकाले उहाँ नेपाल फर्किएपछि मात्र शवको दाहसंस्कार गरिने परिवारले जनाएको छ ।
बोलबम यात्राका लागि गरुडा–६ पोठियाहीबाट तीर्थयात्रीहरू भारतको देवघर गएका थिए । सोही क्रममा झारखण्डमा उनीहरु सवार बस दुर्घटनामा परेको थियो । दुर्घटनामा रौतहटका अन्य तीर्थयात्रीसमेत घाइते भएको प्रहरीले जनाएको छ ।