रौतहट । गरुडा नगरपालिका–६ पोठियाहीमा सार्वजनिक पोखरीमा डुबेर ७३ वर्षीय पन्निलाल साह कलवारको मृत्यु भएको छ।
मानसिक सन्तुलन ठीक नभएका साह साउन २७ गते राति करिब ११ बजे घरबाट कसैलाई जानकारी नदिई बेपत्ता भएका थिए। परिवारले उनको खोजी गरे पनि फेला नपरेपछि साउन २८ गते इलाका प्रहरी कार्यालय शिवनगरमा हुलिया निवेदन दिएका थिए।
प्रहरीका अनुसार खोजी गर्ने क्रममा साउन ३० गते साँझ करिब ६ः३० बजे पोठियाहीस्थित सार्वजनिक पोखरीमा साह मृत अवस्थामा फेला परेका हुन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय शिवनगरबाट प्रहरी नायब निरीक्षक विजय डिम्डुङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा एसओसीओसहित पाँच सदस्यीय टोलीसमेत खटाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त पोखरी इलाका प्रहरी कार्यालय शिवनगरबाट करिब दुई किलोमिटर दक्षिण–पश्चिममा पर्छ।
साउन ३० गते साँझ ७ः३५ बजे कानुनी प्रक्रिया पूरा गरी साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको थियो। शव राति ८ः१० बजे अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।