रौतहट । रौतहटको गढीमाई नगरपालिका–२ हतिऔलमा विद्युत् तार सर्ट हुँदा गाईगोठमा आगलागी भएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय सकेन्द्र बैठाको गाईगोठमा शनिबार दिउँसो करिब ४ः३० बजे विद्युत् तार सर्ट भई आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी नायब निरीक्षक इन्द्रबहादुर राउतको कमान्डमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँझ ५ः१० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट गोठभित्र रहेको करिब १०० किलो ब्रान्ड र ५० किलो चामलसहित गोठ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको भए पनि मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय समनपुरबाट करिब दुई किलोमिटर पश्चिम–दक्षिणमा पर्छ।