रौतहट । रौतहटको परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट लडेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ।
स्थानीय शेख मेहबुल हककी ५ वर्षीया छोरी फातमा खातुन शनिबनर बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन्। बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट खाल्टोमा खसेर जमेको पानीमा डुबेकी उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
बालिका पानीमा डुबेको देखेपछि स्थानीयवासीले उनलाई बाहिर निकालेका थिए। घटनाबारे बिहान ९ः२५ बजे प्रहरी चौकी रामपुरखापमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक धीरेन्द्रकुमार झाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान तथा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक विश्वनाथ यादवको कमान्डमा टोली खटाएको जनाएको छ।
घटनास्थल प्रहरी चौकी रामपुरखापबाट करिब दुई किलोमिटर पश्चिममा पर्छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।