रौतहट । जेन–जी नेपालका महासचिव संजिव झा ले आफू सत्य र सुशासनको पक्षमा उभिँदा एक्लै देखिए पनि कमजोर नभएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै झाले गाली, उपहास, धम्की वा हातपातबाट आफूले उठाउँदै आएको आवाज दबाउन नसकिने चेतावनी दिएका छन्।
झाले आफ्नो मौनता र गम्भीरतालाई डर तथा शालीनतालाई कमजोरी नठान्न आग्रह गरेका छन्। आफू डराएर पछि हट्ने व्यक्ति नभएको भन्दै उनले बरु अझ स्पष्ट र दृढताका साथ अघि बढ्ने बताएका छन्।
‘सत्यको पक्षमा उभिँदा म एक्लै देखिएको हुँ, कमजोर होइन,’ भन्दै झाले आफूले गलत प्रवृत्तिसँग सम्झौता नगर्ने संकेत गरेका छन्। उनका अनुसार दबाब, धम्की वा आक्रमणको माध्यमबाट सत्यको आवाज रोक्न खोज्नु भ्रम मात्र हो।
झाले आफू उपभोक्ता समिति, ठेक्कापट्टा, योजना, भत्ता, जागिर, कमिसन, दलाली, राहत–अनुदान वा चाकडी–चाप्लुसीको स्वार्थ बोकेर राजनीतिमा नआएको दाबी गरेका छन्। आफू राजनीतिमा आउनुको उद्देश्य बेथिति र भ्रष्ट प्रवृत्तिमाथि प्रश्न उठाउनु तथा समाजमा सुशासन र स्वाभिमान स्थापित गर्नु रहेको उनको भनाइ छ।
‘म आएको हुँ– बेथिति र भ्रष्ट प्रवृत्तिसँग प्रश्न गर्न, समाजमा सुशासन र स्वाभिमान स्थापित गर्न र आफ्नो समाजलाई नेपाल र विश्वसामु अनुकरणीय बनाउन,’ उनले फेसबुकमा लेखेका छन्।
आफ्नो बाटो रोक्ने, छेक्ने वा जिस्क्याउने प्रयास नगर्नसमेत उनले चेतावनी दिएका छन्। आफू कुनै व्यक्ति बन्न नभई विचार बोकेर अघि बढेको उनको भनाइ छ।
झाले भीडसँग हिँड्नु सहज भए पनि सत्यको पक्षमा उभिन इमान्दारिता, त्याग, साहस र हिम्मत आवश्यक पर्ने बताएका छन्। आफूलाई भीडसँग हिँड्ने बानी नहुन सक्ने भए पनि सत्य र संकल्प भने आफूसँग रहेको उनले उल्लेख गरेका छन्।
जेन–जी आन्दोलनले भ्रष्टाचार, सुशासन र राजनीतिक जवाफदेहिताको प्रश्नलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको पृष्ठभूमिमा झाको पछिल्लो अभिव्यक्तिलाई पनि त्यसै अभियानसँग जोडेर हेरिएको छ।
घाइते अवस्थामै पनि आफूले उठाउँदै आएको मुद्दाबाट पछि नहट्ने संकेत गर्दै झाले आफ्नो संघर्ष व्यक्ति केन्द्रित नभई विचार र व्यवस्थागत सुधारका लागि भएको सन्देश दिएका छन्।