रौतहट — रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलियामा एक वर्कसप सञ्चालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
प्रहरीका अनुसार बारा कलैया उपमहानगरपालिका–१ घर भई हाल देवाही गोनाही–५ टिकुलियामा बच्चु यादवको घरमा कोठा भाडामा लिएर बस्दै आएका करिब ३५ वर्षीय सुमित पटेल आफ्नै वर्कसपको छानामा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
पटेलले टिकुलियामा ‘एन्जल मोटरसाइकल वर्कसप’ सञ्चालन गर्दै आएका थिए। शुक्रबार मध्यराति करिब १२ बजे वर्कसपको छानामा रहेको काठको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा उनकी श्रीमती भारती पटेलले देखेपछि पासो काटेर हेर्दा उनको मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे राति १२ः५० बजे इलाका प्रहरी कार्यालय देवाही गोनाहीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक विनोद ठाकुरको नेतृत्वमा दुईजनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा थप प्रहरी टोली घटनास्थल पुगेको छ। प्रारम्भिक अनुसन्धानबाट पटेलले झुण्डिनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट करिब साढे तीन किलोमिटर पश्चिममा पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।