रौतहट — रौतहटको चन्द्रपुर नगरपालिकाले सेवाग्राहीलाई सहज र छरितो सेवा उपलब्ध गराउने उद्देश्यले वडास्तरबाटै व्यवसाय दर्ता तथा घरबहाल र सम्पत्ति कर असुलीको व्यवस्था गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीराज ढकालले मंगलबार एक सुचना जारी गर्दै नगरकार्यपालिकाको कार्यालयबाट सम्पादन हुँदै आएका केही काम वडा क्षेत्रबाटै हुने गरी अधिकार प्रत्यायोजन गरेका हुन्।
ढकालले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा २२ को उपदफा (१) बमोजिम सम्बन्धित वडाभित्रका सेवाग्राहीलाई लक्षित गरी उक्त अधिकार प्रत्यायोजन गरेका हुन्। नगरपालिकाले जारी गरेको व्यवस्थाअनुसार यो निर्णय २०८३ मंसिर १ गतेदेखि कार्यान्वयनमा आउनेछ।
प्रत्यायोजित अधिकारअनुसार ‘घ’ वर्गको निर्माण व्यवसाय दर्ताबाहेक अन्य व्यवसाय दर्ता सम्बन्धी काम अब सम्बन्धित वडा क्षेत्रबाटै सम्पादन गर्न सकिनेछ। त्यसैगरी नगरपालिकाको आर्थिक ऐनअनुसार घरबहाल कर र सम्पत्ति कर असुलीको जिम्मेवारी पनि वडास्तरबाटै कार्यान्वयन हुने गरी व्यवस्था गरिएको छ।
यसअघि यी कामका लागि सेवाग्राही नगरकार्यपालिकाको कार्यालयसम्म पुग्नुपर्ने अवस्था रहेकोमा नयाँ व्यवस्थाले वडाबाटै सेवा लिन सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी व्यवसाय दर्ता र कर तिर्न नगरपालिकाको कार्यालय धाउनुपर्ने झन्झट कम हुनुका साथै सेवाग्राहीको समय र खर्च बचत हुने विश्वास गरिएको छ।
प्रमुख प्रशासकीय अधिकृत ढकालले अधिकार प्रत्यायोजनसम्बन्धी पत्रमा सेवाग्राहीलाई सुविधा र सहजता हुने गरी प्रचलित कानुनअनुसार प्रत्यायोजित अधिकारको प्रयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।
स्थानीय तहबाट प्रदान गरिने सेवा नागरिकको घरदैलोनजिक पुर्याउने उद्देश्यले गरिएको यो व्यवस्थाको प्रभावकारिता भने कार्यान्वयनपछि देखिनेछ। वडास्तरबाट सेवा प्रवाह गर्दा प्रक्रिया सरल बनाउने, कर सङ्कलनलाई व्यवस्थित गर्ने र सेवाग्राहीले भोग्दै आएका प्रशासनिक झन्झट घटाउने चुनौती पनि नगरपालिकासामु रहनेछ।
नयाँ व्यवस्था प्रभावकारी रूपमा लागू भएमा चन्द्रपुर नगरपालिकाका नागरिकले व्यवसाय दर्ता तथा घरबहाल र सम्पत्ति करसम्बन्धी कामका लागि नगरपालिकाको केन्द्रीय कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।