रौतहट— रौतहटको चन्द्रपुर नगर सभापति अरुण लामाले जनताका समस्या बुझ्न भाषण होइन, घरदैलोमै पुग्नुपर्छ भन्ने सन्देशसहित नगरका १० वटै वडामा जनगुनासो सुनुवाइ तथा प्रत्यक्ष संवाद अभियान सञ्चालन गरेका छन्।
लामाको पहलमा क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य गणेश पौडेललाई वडावडामा पुर्याएर स्थानीयका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइएको हो।
चन्द्रपुर नगरपालिका वडा नं. १ देखि १० सम्म सञ्चालन गरिएको अभियानमा स्थानीय बासिन्दाले विकास निर्माण, काममा हुने ढिलासुस्ती र दैनिक जीवनमा भोग्नुपरेका विभिन्न समस्याबारे सांसद पौडेललाई जानकारी गराएका थिए। नगर सभापति लामाको नेतृत्वमा भएको अभियानले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवादको वातावरण बनाएको आयोजकको भनाइ छ।
कार्यक्रममा सांसद पौडेलले स्थानीयका गुनासा गम्भीरतापूर्वक सुन्दै तिनको समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्ने लामाको सक्रियताको उनले प्रशंसासमेत गरे।
जनगुनासा सुन्ने अभियानसँगै आगामी स्थानीय तहको निर्वाचनमा चन्द्रपुरको नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषय पनि चर्चामा आएको छ। सांसद पौडेलले असल, निष्ठावान्, जनताको कुरा सुन्ने, विकास निर्माणलाई गति दिन सक्ने र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तिलाई नगर प्रमुख बनाउनुपर्ने धारणा राखेका छन्।
‘आगामी निर्वाचनमा चन्द्रपुर नगरले असल, निष्ठावान्, जनताको कुरा सुन्ने, स्थानीय विकासलाई तीव्र गतिमा अघि बढाउने र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तिलाई नगर प्रमुखका रूपमा पाउनेछ,’ पौडेलको भनाइ उद्धृत गर्दै आयोजकले जनाएको छ। योग्य र जनप्रिय उम्मेदवार चयन गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो।
पौडेलको यो अभिव्यक्तिले आगामी निर्वाचनमा चन्द्रपुरको नेतृत्व चयनबारे राजनीतिक चासो बढाउने देखिन्छ। यद्यपि, उनले कसैलाई स्पष्ट रूपमा मेयरको उम्मेदवार घोषणा गरेका छैनन्।
अभियानपछि नगर सभापति लामाले जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने सांसद पौडेलप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा पनि जनताको सेवा, वडास्तरको विकास र पारदर्शी नेतृत्व निर्माणका लागि नगर कमिटी सक्रिय रहने बताए।
चन्द्रपुरका १० वटै वडामा पुगेर जनगुनासा सुन्ने लामाको यो पहललाई आयोजकले जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने अभियानका रूपमा व्याख्या गरेको छ। तर, अभियानका क्रममा उठेका समस्या समाधानका लागि कस्तो पहल हुन्छ भन्ने कुराले यसको वास्तविक प्रभावकारिता देखाउनेछ ।