रौतहट । विकासका लागि पद र सरकारी बजेटकै मुख ताक्ने प्रवृत्तिबीच मौलापुर नगरपालिका–६ पथरा बुधरामका इन्जिनियर प्रमोद कुमार यादव र उनकी श्रीमती प्रियंकाचन्द यादवले आफ्नै निजी लगानीमा निर्माण गरेको दुर्गा मेला ट्रस्टको संयुक्त रूपमा उद्घाटन गरेका छन्। फूलपातीका दिन गरिएको उद्घाटनसँगै यादव दम्पतीले आफ्नो कमाइबाट गाउँको धार्मिक तथा सामाजिक विकासमा योगदान गर्ने अभियानलाई थप अर्थपूर्ण बनाएका छन्।
रामजानकी मठको जग्गामा निर्माण गरिएको ट्रस्टको शिलालेखमा इन्जिनियर प्रमोद कुमार यादव र उनकी श्रीमती प्रियंकाचन्द यादवको निजी लगानीमा निर्माण सम्पन्न भएको उल्लेख छ। जग्गादाताका रूपमा रामजानकी मठलाई श्रेय दिइएको छ। दुवै दम्पतीको संयुक्त लगानी र सहभागितामा तयार भएको ट्रस्टले यस वर्षको दुर्गा पूजालाई पथरा बुधराममा थप उत्साहपूर्ण बनाएको छ।
आफ्नै कमाइबाट निर्माण गरेको संरचनाको उद्घाटन गरेर त्यहीँ दुर्गा माताको पूजा गर्न पाउँदा यादव दम्पतीले खुसी र गर्वको अनुभूति गरेका छन्। यस वर्ष दुवै जना पूजाको अनुष्ठानमा चौका बसेका छन्। आफ्नो लगानीबाट बनेको संरचनामा दुर्गा माताको मूर्ति स्थापना गरी पूजा गर्न पाउनु अविस्मरणीय अनुभव भएको यादवले बताए। उनका अनुसार विगतका वर्षभन्दा यसपालि पथरा बुधराममा दसैँको रौनक र उत्साह बढी देखिएको छ।
४१ वर्षीय इन्जिनियर यादवले आफ्नो पेसाबाट आर्जन गरेको रकम गाउँको धार्मिक संरचना निर्माणमा खर्चिँदै आएका छन्। यस अभियानमा उनकी श्रीमती प्रियंकाचन्द यादवले समेत साथ दिएकी छन्। उनीहरूको संयुक्त लगानीमा रामजानकी मन्दिर परिसरमा बाउन्ड्रीवालसहित ट्रस्ट, पार्क र दुर्गा माताको मन्दिर निर्माण गर्ने योजना अघि बढाइएको छ।
ट्रस्ट निर्माणमा १५ लाख रुपैयाँभन्दा बढी खर्च भएको यादवले बताएका छन्। दुर्गा माताको मन्दिरलाई भव्य र आकर्षक बनाउने योजनामा एक करोड रुपैयाँभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ। सम्पूर्ण निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य दम्पतीको छ। स्थानीय बासिन्दाको सर्वसम्मत निर्णयअनुसार उक्त संरचनाको नामकरण यादवका बुबा चन्देश्वर प्रसाद यादव र आमा कुसुम कुमारी देवीको नामबाट गरिने भएको छ।
धार्मिक संरचना निर्माणमा यादव दम्पतीको यो पहिलो योगदान भने होइन। उनीहरूले यसअघि पनि आफ्नै निजी लगानीमा बरह्मबाबाको मन्दिर निर्माण अघि बढाएका थिए। उक्त मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसमा ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।

राजनीतिक पद वा सरकारी जिम्मेवारीमा नपुगी पनि आफ्नो कमाइबाट समाजका लागि योगदान गर्न सकिन्छ भन्ने मान्यताका साथ यादव दम्पतीले निर्माणका काम अघि बढाएका हुन्। उनीहरूको पहलले धार्मिक आस्थालाई संरचनासँग जोड्नुका साथै गाउँलेलाई सामूहिक पूजाआजा, धार्मिक पर्व र सार्वजनिक कार्यक्रमका लागि व्यवस्थित स्थल उपलब्ध गराउने अपेक्षा गरिएको छ।
आफ्नै कमाइबाट निर्माण गरेको ट्रस्टको उद्घाटनमा सँगै उभिएका यादव दम्पतीका लागि यो केवल एउटा संरचना थपिएको घटना होइन, गाउँका लागि केही गर्ने साझा संकल्पको उपलब्धिसमेत हो।