रौतहट, ३० असोज
लालबकैया नदीमा डुबिरहेकी महिलाको उद्धारदेखि बाढीका बेला बाँध कटान रोक्न सक्रिय भूमिका निर्वाह गरेका इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसी सम्मानित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाद्वारा आयोजित ‘७१औँ प्रहरी दिवस २०८३’ का अवसरमा प्रहरी निरीक्षक केसीलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको हो। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यता तथा गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा केसीलाई सम्मान गरिएको थियो।
गत असोज १० र ११ गतेको अविरल वर्षाका कारण लालबकैया नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि मौलापुर नगरपालिका–१ स्थित बाँधमा कटानको जोखिम गम्भीर बनेको थियो। बाँध कटान अन्तिम बिन्दुमा पुगेका बेला प्रहरी निरीक्षक केसीले आफ्नै कमान्डमा प्रहरी टोली परिचालन गरी बाँध जोगाउन सक्रिय भूमिका निर्वाह गरेका थिए।
केसी आफैं नदीमा पसेर कटान रोक्ने कार्यमा खटिएका थिए। उनको नेतृत्वमा परिचालित प्रहरी टोलीले कटान रोक्न करिब ६ हजार बोरा बालुवा प्रयोग गरेको थियो। टोलीको निरन्तर प्रयासपछि जोखिममा परेको बाँध जोगाउन सफल भएको थियो। बाँध भत्किएको भए आसपासका बस्ती तथा खेतीयोग्य जमिन डुबानमा पर्ने जोखिम रहेको थियो।
प्रहरी दिवसका अवसरमा प्रदान गरिएको प्रशंसापत्रमा प्रहरी निरीक्षक केसीले इलाका प्रहरी कार्यालय मौलापुरमा कार्यरत रहँदा डुबानजन्य विपद् उद्धार तथा प्रतिकार्यमा उत्कृष्ट कार्यसम्पादन गरेको उल्लेख गरिएको छ। उनको नेतृत्व, साहस र सक्रियताको उच्च मूल्यांकन गर्दै पुरस्कार तथा प्रशंसापत्र प्रदान गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अनुगमनका क्रममा गृह, सञ्चार तथा कानुनमन्त्री महतोले पनि प्रहरी निरीक्षक केसीले देखाएको सक्रियताको प्रशंसा गरेका थिए। उनले प्रदेश सरकार तथा गृह मन्त्रालयका तर्फबाट केसीको योगदानको उचित मूल्यांकन गरी पुरस्कृत गर्ने प्रतिबद्धतासमेत जनाएका थिए। सम्मान प्राप्त गरेपछि प्रहरी निरीक्षक केसीले विपद्का बेला नागरिकको ज्यान जोगाउनु र सार्वजनिक संरचनाको संरक्षण गर्नु प्रहरीको प्रमुख दायित्व भएको बताए। उनले आफूले गरेको कार्यलाई व्यक्तिगत उपलब्धिभन्दा पनि प्रहरी टोलीको सामूहिक प्रयासका रूपमा लिएको उल्लेख गरे।
बाध संरक्षण पछि प्रहरी निरीक्षक केसीले मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीमा गत १३ गते बिहान करिब ५ः४० बजे डुबिरहेकी माधवनारायण नगरपालिका–१, दिपहीटोलकी करिब ३५ वर्षीया ललिता देवी पासवानको उद्धार गरेका थिए। उनले जोखिमको पर्वाह नगरी लाइफ ज्याकेटबिनै नदीमा हाम फालेर पासवानलाई सकुशल बाहिर निकालेका थिए।
नदीमा डुबिरहेकी महिलाको उद्धार गरेपछि प्रहरी निरीक्षक केसीको सक्रियताको व्यापक चर्चा भएको थियो। विपद्का बेला तत्काल निर्णय लिँदै जोखिम मोलेर उद्धारमा खटिएको भन्दै उनको कार्यको प्रशंसा गरिएको थियो।
लालबकैया नदी संरक्षणदेखि डुबिरहेकी महिलाको उद्धारसम्म प्रहरी निरीक्षक केसीले देखाएको सक्रियता, साहस र नेतृत्वलाई प्रहरी दिवसका अवसरमा प्रदान गरिएको पुरस्कार तथा प्रशंसापत्रमार्फत औपचारिक रूपमा सम्मान गरिएको हो।