रौतहट — रौतहटमा एउटै दिन भएका दुई छुट्टाछुट्टै घटनामा एक युवक घाइते भएका छन् भने एक वृद्धको मृत्यु भएको छ। कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोकामा १८ वर्षीय युवक घरमै झुण्डिएको अवस्थामा फेला परेका छन्। उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको छ। यस्तै, माधवनारायण नगरपालिका–६ मा ६६ वर्षीय वृद्ध घरभित्रै मृत फेला परेका छन्।
प्रहरीका अनुसार २०८३ कात्तिक ५ गते अपराह्न करिब साढे ४ बजे कटहरिया नगरपालिका–३ बिर्ती प्रस्टोका निवासी रामजी साहका छोरा १८ वर्षीय सुमित साह आफ्नै घरको सुत्ने कोठामा सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेका थिए। घरायसी समस्याका कारण घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
छोरालाई झुण्डिएको अवस्थामा देखेपछि उनका बुबा रामजीले पासो काटेर उनलाई तल झारेका थिए। घटनाबारे साँझ साढे ५ बजे इलाका प्रहरी कार्यालय कटहरियामा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि सुमितलाई गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको र बुबा रामजीकै संलग्नतामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, सोही दिन साँझ करिब साढे ७ बजे माधवनारायण नगरपालिका–६ निवासी ६६ वर्षीय सीताराम ठाकुर आफ्नै घरमा मृत फेला परेका छन्। एकतले पक्की घरको भर्याङमाथि रहेको भागमा बाँसको बलोमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेको प्रहरीको विवरणमा उल्लेख छ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी माधोपुरबाट प्रहरी सहायक निरीक्षक विजयकुमार भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल सुरक्षित राखिएको र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको नेतृत्वमा सोको (SOCO) सहितको टोलीसमेत घटनास्थल पुगेको प्रहरीले जनाएको छ।
ठाकुरको मृत्युको कारण खुल्न सकेको छैन। उनका छोरा परिवारसहित काठमाडौंमा बस्दै आएको र परिवार घर आएपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरीका अनुसार वृद्धको शव घटनास्थलमै रहेको थियो।
दुवै घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढ्न बाँकी छ।