१५ सय विद्यार्थी अध्ययनरत श्री माध्यमिक विद्यालयलाई करिब एक लाख रुपैयाँ बराबरको सहयोग
रौतहट — रौतहटको गरुडा नगरपालिका–९, नयाँ गम्हरिया श्रीपुरस्थित श्री माध्यमिक विद्यालयलाई ज्योति विकास बैंक लिमिटेडले दुई सेट डेस्कटप कम्प्युटर सहयोग गरेको छ। विद्यार्थीको सूचना प्रविधिसम्बन्धी ज्ञान र व्यावहारिक सीप विकासमा सघाउने उद्देश्यले बैंकले करिब एक लाख रुपैयाँ बराबरका कम्प्युटर हस्तान्तरण गरेको हो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको कम्प्युटरले विद्यालयमा कम्प्युटर शिक्षालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बैंकको चपुर शाखाको समन्वयमा विद्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका मधेश प्रदेश प्रमुख मोहन राज गिरी र चपुर शाखाका शाखा प्रबन्धक सन्दीप कुमार स्तोगीलगायत बैंकका प्रतिनिधिले कम्प्युटर हस्तान्तरण गरेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम आधार पासवान, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।
बालविकासदेखि कक्षा १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुँदै आएको उक्त विद्यालयमा करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन्। विद्यार्थीको संख्याको तुलनामा आवश्यक शैक्षिक सामग्री र भौतिक पूर्वाधार पर्याप्त नभएको अवस्थामा प्राप्त कम्प्युटरले सूचना प्रविधिको व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुग्ने विद्यालयको अपेक्षा छ।
कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख गिरीले बैंकको जिम्मेवारी वित्तीय सेवा प्रवाह र व्यावसायिक कारोबारमा मात्र सीमित नरहेको बताए। समुदायको आवश्यकता पहिचान गरी सामाजिक विकास र नागरिकको जीवनस्तर सुधारमा योगदान पुर्याउनु पनि बैंकको दायित्व भएको उनको भनाइ थियो।
उनले ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। आधुनिक समयमा सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप अपरिहार्य बन्दै गएकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षासँग जोड्न यस्ता सहयोग उपयोगी हुने उनले बताए।
विद्यालयको आवश्यकता र उपलब्ध स्रोतसाधनलाई ध्यानमा राख्दै आगामी दिनमा पनि शैक्षिक तथा अन्य आवश्यक सामग्री सहयोग गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता गिरीले व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक पासवानले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले कम्प्युटर उपलब्ध गराएकोमा बैंकप्रति आभार व्यक्त गरे। प्राप्त कम्प्युटरले विद्यार्थीको सूचना प्रविधिसम्बन्धी ज्ञान बढाउनुका साथै सैद्धान्तिक सिकाइलाई व्यावहारिक अभ्याससँग जोड्न मद्दत पुग्ने उनले बताए।
विद्यार्थीको संख्याको तुलनामा आवश्यक शैक्षिक सामग्री तथा पूर्वाधार अझै पर्याप्त नरहेको उल्लेख गर्दै पासवानले विद्यालयको शैक्षिक वातावरण सुधारका लागि आगामी दिनमा पनि बैंक तथा अन्य सहयोगी संस्थाबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।