काठमाडौँ । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा भएको ठगीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा कागेश्वरी मनोहरा नगरपालिका–१ बस्ने ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनरायण नगरपालिका–९ बस्ने ४० वर्षीय रविन्द्र केसी, गोरखा घर भएर टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भएर गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका छन् ।
उनीहरूले म्याक्रोटेक प्रालि नामको कम्पनीमार्फत मलेसिया जाने कामदारहरूसँग गैरकानुनी रूपमा बायो मेडिकल सर्भिस शुल्क लिएर ठगी गरेको सीआईबीको अनुसन्धान निष्कर्ष छ । मेडिकल स्क्रिनिङको नाममा आरोपीहरूले अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य बनाएर गैरकानुनी तरिकाले कामदारबाट रकम असुलेको ब्यूरोका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले बताए ।
असोज २९ मा पक्राउ परेका उनीहरूमाथि ब्यूरोले ठगी सम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । २०७५ को अन्तिमदेखि आरोपीहरूले मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १ सय मलेसियन रिङ्गिट असुल गरेका थिए । त्यसबेलाको मूल्य अनुसार प्रतिकामदार म्याक्रोटेक प्रालिले ३ हजार १६० रुपैयाँ असुलेको थियो ।
२०७५ अन्तिमदेखि २०८० सम्ममा म्याक्रोटेक प्रालिले मलेसिया जाने ७ लाख ३३ हजार कामदारसँग बायो मेडिकल सर्भिस शुल्क लिएको प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूबाट २ अर्ब ३१ करोड ६२ लाख ८० हजार रुपैयाँ गैरकानुनी रूपमा असुल गरिएको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
त्यसबेला मलेसिया जाने कामदारले सरकारले निर्धारण गरेको ४५ सय रुपैयाँ तिरेर नियमित स्वास्थ्य परीक्षण गराउँथे, तर कैलाश खड्का समूहले सिन्डिकेट खडा गरेर कामरदारलाई मेडिकल स्क्रिनिङको नाममा दोहोरो स्वास्थ्य परीक्षण गराउन बाध्य बनाएका हुन् । सीआईबीका एसएसपी जबराले भने, ‘लिनु नपर्ने रकम असुल गरेर २ अर्बभन्दा बढी ठगेको देखिन्छ ।’
बायो मेडिकल सर्भिस शुल्क बापत कामदारसँग असुल गरिएको रकम आरोपीहरूले मलेसियामा पनि पठाउने गरेका थिए । मलेसियास्थित ‘बेस्टिनेट’ नामक कम्पनीलाई उनीहरूले नेपालमा संकलन गरिएको रकमको ९० प्रतिशत पठाउने गरेको भेटिएको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘अतिरिक्त असुल गरेको रकम म्याक्रोटेकले १० प्रतिशत नेपालमा राखेर अरु मलेसियामा पठाउने गरेको देखिन्छ ।
नियमित स्वास्थ्य परीक्षण र म्याक्रोटेकलाई अतिरिक्त शुल्क बुझाउँदा मलेसिया जाने कामदार दोहोरो मारमा पर्ने गरेका थिए । २०८० भन्दापछि चाहिँ सो प्रक्रिया रोकिएको थियो ।
स्वास्थ्य परीक्षणको नाममा ठगी गर्ने समूहमाथि अनुसन्धान भइरहँदा मलेसियामा कामदार पठाउँदै आएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेको छ । मलेसियन सरकारले २५ वटा कम्पनीलाई मात्र कामदार पठाउन अनुमति दिएको छ, तर नेपाल सरकारले त्यसमा असन्तुष्टि जनाउँदै आएको छ ।
मलेसियामा कामदार पठाउने अनुमति पाएको ट्रस्ट नेपालका सञ्चालक रविन गुरुङलाई प्रहरीले पक्राउ गरेर विभागमा बुझाएको छ । महाराजगञ्जमा रहेको ट्रस्ट नेपालका सञ्चालक रविन गुरुङमाथि अनुसन्धान भइरहेको विभागका एक जना अधिकृतले बताए ।